२१ जेठ २०८३, बिहीबार

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्बभन्दा बढी लगानी

जेठ २१, २०८३
काठमाडौं
विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्बभन्दा बढी लगानी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की ले विद्युत् उत्पादनमा निजी क्षेत्रले रु १३ खर्ब १० अर्ब लगानी गरिसकेको बताएका छन् ।

इप्पानले आज आयोजना गरेको बजेटपछिको समीक्षा तथा विगत तीन वर्षमा भएका कामबारे आयोजित कार्यक्रममा उनले नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको योगदान ८० प्रतिशत पुगेको बताए । “हाल नेपालमा उत्पादित कुल चार हजार २०० मेगावाट विद्युत् जडित क्षमतामध्ये तीन हजार ५०० मेगावाट निजी क्षेत्रले उत्पादन गरेको छ”, उनले भने ।

अध्यक्ष कार्कीले निजी क्षेत्रले हालसम्म गरेको रु १३ खर्ब १० अर्ब लगानीमध्ये बैंक तथा वित्तीय संस्थाको रु आठ खर्ब ७० अर्ब र निजी क्षेत्रको रु चार खर्ब ४० अर्ब रहेको जानकारी दिए । उनले जलविद्युत् क्षेत्रले हाल तीन लाखभन्दा बढीलाई रोजगारी दिनुका साथै वार्षिक रु २५ अर्बभन्दा बढी राजस्वमा योगदान पुर्‍याएको उल्लेख गरे ।

अध्यक्ष कार्कीले सरकारले १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि बजेटमा ठूला आयोजनाको विद्युत् खरिद सम्झौता (पिपीए) बारे स्पष्टता नहुँदा लगानीकर्ता निराश भएको बताए ।

इप्पानले मुख्य रूपमा ५० वर्षको अनुमतिपत्र अवधि, निजी क्षेत्रलाई विद्युत् व्यापार तथा प्रसारण लाइनमा सहभागिता, वन तथा वातावरणीय प्रक्रियाका जटिलता अन्त्य र ‘एकद्वार प्रणाली’ लागू गर्न माग गरेको छ ।

“विगत तीन वर्षमा हामीले पावर समिट र हाइड्रोएक्स्पो जस्ता सफल कार्यक्रम गर्‍यौँ, तर नीतिगत तहमा अझै धेरै काम बाँकी छन् । आठ मन्त्रालय र २३ विभाग धाउनुपर्ने बाध्यता अन्त्य नभएसम्म ऊर्जा क्षेत्रको द्रुत विकास सम्भव छैन”, अध्यक्ष कार्कीले भने ।

इप्पानले बाढी प्रभावित आयोजनालाई राहत, जलविद्युत् आयोजनाको सुरक्षा सुनिश्चितता तथा कर छुटका विषयमा सरकारले सहजीकरण गर्नुपर्ने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्