
निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका १५ वटा सडक आयोजनाका ठेक्का तोडिएको छ । पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायी र कार्यालयबीच भएको सम्झौताअनुसार ठेक्का सम्पन्न गरिसक्नुपर्नेमा थपिएको म्यादसमेत सकिँदा पनि काम सम्पन्न नभएपछि ती आयोजनाका ठेक्का रद्द गरेको हो ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीका अनुसार काम नगरी ठेक्का अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का तोडिएको हो । “कार्यालयसँग सम्झौता गरेर समयमै काम नगर्ने २५ वटा ठेक्का तोड्ने प्रक्रिया सुरु गरेका थियौँ”, उनले भने, “१० वटाले अहिले धमाधम काम गरिरहेका छन् । असार मसान्तसम्म काम सम्पन्न नगरिए ती ठेक्का पनि अन्त्य गरिनेछ ।”
कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि सुरु भएका अधिकांश सडक आयोजनामा प्रगति न्यून देखिएपछि यस्तो कदम चालिएको हो । ठेक्का लिएका निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्दै आएपछि स्थानीयवासीले चर्को गुनासो गर्दै आएका थिए । केही सडकमा त प्रारम्भिक कामसमेत सम्पन्न नगरी वर्षौँदेखि अलपत्र छाडिएको अवस्था छ ।
कार्यालयका अनुसार एसएन निर्माणका चार, नागार्जुनका चार, राधाभानुका दुई, गणपतिका चार तथा आरपी कन्स्ट्रक्सनको एक वटा ठेक्का तोडिएको हो ।
ठेक्का रद्द गरिएका निर्माण व्यवसायीलाई सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ तथा ठेक्का सम्झौताका प्रावधानअनुसार कालोसूचीमा राख्न सिफारिस गरिने र कार्यसम्पादन जमानत, धरौटी तथा पेस्की रकम जफत गरिने कार्यालयले जनाएको छ ।
कार्यालयले ठेक्का सम्झौता तोड्दै १५ दिनभित्र निर्माण व्यवसायीलाई वित्तीय फरफारक गर्न समय दिएको छ । ठेक्का तोडिने सूचीमा ग्रामीण भेगका अधिकांश सडक परेका छन् ।
यी सडक निर्माण नहुँदा स्थानीय बासिन्दाले दैनिक आवतजावत, कृषिउपज ढुवानी तथा आधारभूत सेवा प्राप्त गर्न कठिनाइ भोग्दै आएका छन् । वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण जोखिमसमेत बढ्दै गएको छ ।