
प्रतिनिधिसभाको उपसभामुख पद खाली भएको १३ महिना पुगेको छ । नेपाल कम्युनिस्ट पार्टीले उपसभामुखको चयन गर्न आनाकानी गर्दा उपसभामुख पद खाली रहेको हो ।
नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेसँगै नेकपाबाट उपसभामुख रहेकी डा. शिवमाया तुम्बाहाङफेले २०७६ माघ ६ गते राजीनामा दिएकी थिइन् । त्यसलगत्तै २०७६ माघ १२ गते अग्निप्रसाद सापकोटा सभामुखमा निर्वाचित भएका थिए । नेकपाभित्रको आन्तरिक किचलोका कारण उपसभामुख चयन प्रक्रिया थप लम्बिँदै आएको छ ।
संविधानको व्यवस्थाअनुसार फरक राजनीतिक दललाई उपसभामुख दिनुपर्ने व्यवस्था रहेको छ । सभामुख र उपसभामुखको चयन गर्ने क्रममा तत्कालीन नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र तत्कालीन नेकपा एमालेबाट तुम्बाहाङफे उपसभामुखमा निर्वाचित भएका थिए । एउटै पार्टीको हुन नहुने प्रावधान भए पनि पार्टी एकतापछि दुवै जना नेकपाका सभामुख र उपसभामुख रहेका थिए ।
संविधानले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने र सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था गरेको छ । नेकपाबाट सभामुख सापकोटा निर्वाचित भएकाले अब उपसभामुखमा नेकपाबाहेकको दलबाट ल्याउनुपर्ने हुन्छ । हाल संसद्मा राष्ट्रिय पार्टीको मान्यता प्राप्त नेकपा, कांग्रेस र जसपा गरी तीन दल मात्र रहेका छन् ।नेपाल समाचारपत्रमा खबर छ ।