
हिंसात्मक गतिविधि गरेको भन्दै झण्डै दुई वर्षअघि प्रतिबन्धमा परेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा अन्ततः शान्तिपूर्ण राजनीतिमा फर्किएको छ । तत्कालीन माओवादी, मोहन वैद्य नेतृत्वको माओवादी हुँदै टुक्रिएर केही समय खुला राजनीति गरेपछि प्रतिबन्धमा परेको विप्लव नेतृत्वको नेकपा प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा वार्तामा बसी ३ बुँदे सहमति भएसँगै शान्तिपूर्ण राजनीतिमा फर्किएको हो ।
हिंसात्मक आन्दोलनमा लागेका विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सफल भएको भन्दै ओली सरकारको प्रशंशा समेत भएको छ । उसो पृथकतावादी आन्दोलनमा लागेका सिके राउतलाई पनि ओलीले नै शान्तिपूर्ण राजनीतिमा ल्याएका थिए ।
बिहीबार सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाबीच भएको वार्तापछि ३ बुँदे सहमति भएको र सो सहमतिको विस्तृत विवरण शुक्रबार राजधानीको राष्ट्रिय सभागृहमा एक विशेष समारोहमार्फत सार्वजनिक गरिँदैछ । सोही कार्यक्रममा नै विप्लव करिब दुई वर्षपछि औपचारिक रुपमा सार्वजनिक हुनेछन् भने कार्यक्रमलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बिहीबारको वार्तामार्फत भएको ३ बुँदे सहमतिमा सरकार र विप्लव पक्षबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव पक्षका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् ।
सो वार्ता टोलीमा सरकारका तर्फबाट रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लवको तर्फबाट प्रवक्ता प्रकाण्ड र उदयबहादुर चलाउने रहेका थिए ।
सोही सहमतिअनुसार सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध हटाइसकेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लवको पार्टीलाई लगाइएको प्रतिबन्ध हटाएको हो । उसो त गृह मन्त्रालयले प्रक्रिया पुरा गरेर विप्लवका नेता कार्यकर्तालाई रिहा गर्न समेत सर्कुलर जारी गरिसकेको छ ।