
अमेरिकासँग तनाव चलिरहेको अवस्थामा चीनले रक्षा बजेटमा ६.८ प्रतिशतले वृद्धि गरेको छ ।
रक्षा बजेट बढेर २०९ अर्ब डलर पुगेको छ । प्रधानमन्त्री ली खछ्याङले देशको संसद् नेसनल पिपुल्स कंग्रेसमा शुक्रवार यसको घोषणा गरेका छन् ।
रक्षा बजेटमा वृद्धिका विषयमा एनपीसीका प्रवक्ता चाङ यसुईले पत्रकारहरूलाई बताए– चीनले राष्ट्रिय रक्षालाई बलियो बनाउन खोजेको छ र कुनै पनि देशलाई तारो बनाउने वा जोखिम उत्पन्न गर्ने उद्देश्य छैन ।
चीनको विकास दर सन् २०२० मा २.३ प्रतिशतले बढेको थियो । विगत ४५ वर्षमा यो सबभन्दा कम आर्थिक विकास दर हो । चीनको अर्थतन्त्रमा कोरोनाको असर परेको थियो तर छिट्टै उसको पुनरुत्थान भयो ।
चिनियाँ जनमुक्ति सेनाका रिटायर्ड वरिष्ठ कर्नेल वाङ श्याङसुईले अमेरिकी सेना आणविक हतियार र अन्तरिक्ष (स्पेस) मा शक्ति बढाउन खोजिरहेको अनि चीन पनि प्रतिस्पर्धामा रहेको त्यसैले रक्षा बजेट बढाएको बताएका छन् ।
चीनले आफ्नो ट्रेनिङ एरियालाई पनि व्यापक मात्रामा विकसित गरिरहेको छ । आगामी दिनहरूमा चीनले मार हान्ने क्षमता बढाउन र शत्रुहरूमाथि हावी हुन क्षेप्यास्त्रहरूलाई प्रमुख हतियार बनाइरहेको छ ।
चीनसँग भएका कतिपय घातक हतियारहरूको तोड अमेरिकासँग पनि नभएको बताइन्छ ।