
काठमाडौं, ८ वैशाख – स्थानीय तहको निर्वाचनमा कांग्रेसले काठमाडौं उपत्यकामा कमजोर भोट ल्याउनुमा उम्मेदवार छनौटमा कमजोरी भएको कांग्रेस बृत्तमा चर्चा शुरु चएको छ । कांग्रेसले उम्मेदवारको मनोनयन गर्ने दिन वैशाख १९ गते मात्र मेयरको उम्मेदवारको टुङ्गो लगाएको थियो ।
सोमवार मध्यन्हसम्मको नतिजामा काठमाडौं महानगरको नतिजामा कांग्रेस उम्मेदवार राजुराज जोशी एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य भन्दा झण्डै ८ हजार भोटले पछाडि परेका छन् । एमालेका उम्मेदवारले २७ हजार ५० भोट ल्यादा कांग्रेसका उम्मेदवारले १८ हजार ८ सय ९ मात्र भोट पाएका छन् ।
चुनाव नै जित्ने भनेर ढुक्क रहेको कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवारले पाएको भोटलाई लिएर विभिन्न विश्लेषण भइरहेका छन् । यसअघि कांग्रेसले पाएका ‘प्रजातान्त्रिक आस्था’ राख्नेहरुको भोट नवगठित साझा पार्टी र विवेकशील पार्टीले पाएको कांग्रेसको विश्लेषण छ ।
संविधानसभा निर्वाचनमा काठमाडौं महानगरपालिकाका अधिकाशं क्षेत्र कांग्रेसका उम्मेदवारले जितेका थिए । तर, नरहरि आचार्य र गगन थापाले चुनाव जितेको क्षेत्रमा एमालेका उम्मेदवारले जितेका छन् । वडा नम्बर २२ मा कांग्रेसका उम्मेदवार शालिकराम तण्डुकार जम्मा ८ भोटले पराजित भए ।
महानगरमा जीत सुनिश्चित रहेको भन्दै कांग्रेसले आफ्नो ध्यान काठमाडौं भन्दा बाहिर लगाएको थियो । स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकासहित नगरपालिकामा एमालेको जीतलाई कांग्रेस नेताहरुले अनपेक्षित भनेका छन् ।
कांग्रेसका भोट विवेकशील र साझा पार्टीलाई गएको विश्लेषण गरिएपनि उपमेयरमा कांग्रेसकी उम्मेदवारको भोट अग्रस्थानमा छ । ‘यदी कांग्रेसको भोट सवै साझा पार्टीलाई गएको भए उपमेयरमा कांग्रेसको अग्रता कसरी हुन्थ्यो ?’ कांग्रेसका एक नेताले भने, ‘मेयर छनोटमा देखिएको अपारदर्शीताको परिणाम कांग्रेसका भोट बाहिर गए ।’
गुटको प्रभावकाठमाडौंको मेयर छान्नका लागि काठमाडौंमा सांसदहरुको बैठकमा राजुराज जोशीको नाम निर्णय भएर आएको सुनाउँदा कतियप सांसदहरु आश्चर्यमा परेका थिए । यसअघि काठमाडौंको मेयरमा युवा नेता गगन थापा तथा सरकारमा राम्रो काम गरेको भनेर चर्चामा रहेका नवीन्द्रराज जोशीको नाम चर्चामा थियो ।
काठमाडौं कांग्रेसमा अहिले तीनवटा खेमा हावी छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्ण सिटौलाका छुट्टा छुट्टै खेमा छन् । नरहरि आचार्यको छुट्टै खेमा भएपनि आचार्य अस्वस्थ भएपछि त्यो समूह अहिले निर्णायक छैन् । मेयर उम्मेदवार जोशी प्रकाशमान सिंह निकटस्थ हुन् ।
नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं सांसद ध्यानगोविन्द रञ्जितले काठमाडौंका ‘डेमोक्र्याट‘हरुको भोट कांग्रेसले सुनिश्चित गर्न नसक्दा काठमाडौंमा राम्रो नतिजा आउन नसकेको बताउँछन् । विवेकशील र साझा पार्टीले काठमाडौंमा प्राप्त गरेको संयुक्त भोट कांग्रेसको सरह छ । नेकपा एमालेका कार्यकर्ता वा समर्थकको भोट विचलित नभएपनि कांग्रेसप्रति आस्था राख्नेको भोट छरिएको विश्लेषण गरिएको छ ।
‘ती भोट कम्युनिष्ट लाई गएन, बरु नयाँ खुलेका पार्टीमा गयो’ रञ्जितले लोकान्तरसँग भने, ‘डेमोक्र्याटका भोट सुनिश्चित गर्न सकेको भए कांग्रेसल चुनाव जित्ने थियो ।’ उनले अझैपनि ५० प्रतिशत भन्दा धेरै भोट गन्न बाँकी रहेकोले कांग्रेसले मेयरमा हार्छ नै भनेर भन्न नमिल्ने दाबी गरे ।
कांग्रेसकै अर्का एक नेताले मेयरको उम्मेदवार छनौट सही हुन नसक्दा प्रतिष्ठाको बिषय बन्ने गरेको काठमाडौंमा कांग्रेसको विजोक भएको बताउँछन् । ‘यदी कांग्रेसलाई मन नपराएको भए उपमेयरमा हरिप्रभा खड्गीले कसरी त्यती भोट ल्याउथिन् ?’ ती नेताले भने, ‘कांग्रेसलाई मन नपराएको भए उपमेयर पनि एमाले गठबन्धनका राप्रपा उम्मेदवार या साझा पार्टीकी उम्मेदवारले अग्रता लिन्थे होला नि !’
पार्टी भित्रको गुटबन्दीका कारण काठमाडौंमा काग्रेसको संगठन अस्तव्यस्त रहेको स्थानीय नेताहरु बताउँछन् । महानगरपालिका मात्र नभएर काठमाडौंका अन्य नगरपालिकामा समेत कांग्रेसको उपस्थिती कमजोर बन्दै गएको स्वयं कांग्रेस नेताहरु बताउँछन् । ‘कांग्रेस नेताहरुलाई जनता र कार्यकर्ता भन्दापनि नेताको घरमा धाउँदैमा फुर्सद छैन’ कांग्रेसका एक पूर्व सांसद्ले भने, ‘यस्तै हो भने भोलिको दिनमा काठमाडौंमा कांग्रेस खोज्न बत्ति बाल्नु पर्नेछ ।’
मतदाताले विवेक प्रयोग गरेनन् !नेपाली कांग्रेसका जिल्ला सभापति सबुज बाँनिया काठमाडौं महानगरपालिकामा कांग्रेसको कमजोर उपस्थितीबारे आफूपनि द्वििधामा परेको बताउछन् । ‘मतदातालाई म आरोप लगाउन त चाहान्न, तर मतदाताहरुले विवेक प्रयोग गर्ने भन्दापनि लहडमा लाग्नु भयो कि भन्ने टिप्पणी सुनिन्छ’ सभापति बाँनियाले लोकान्तरसंग भने, ‘अरु उम्मेदवारले जस्तो कांग्रेस उम्मेदवारले क्षणिक लडह ल्याउन सक्नु भएन कि ?’ राजधानी शहर हाक्ने मेयर छनौटमा आक्रोशका भोटले काम गर्न नसक्ने उनी बताउछन् ।
काठमाडौंमा उम्मेदवार छनौट अपारदर्शी रहेको भन्ने आरोप उनी स्वीकार्दैनन । ‘पार्टीमा निरन्तर लागेकालाई नै उम्मेदवारलाइै दिने हो, राजुराज जोशी म भन्दापनि पुरानो कांगेस हो, चुनाव मात्र लड्नु भएको थिएन’ सभापति बानियाँले भने, ‘उम्मेदवार छनौटमा अपारदर्शीता भएको भन्ने कुरा गलत हो ।’
शहरी क्षेत्रमा बसोबास गर्ने मतदताको बदलिएको आकांक्षा बुझ्न नसक्नु कमजोरी भएको कांग्रेस नेताहरु स्वीकार्छन् । ‘हिजोको आधारमा मजबुद छौ भन्ने सोच थियो । मतदाताहरुको सोच फरक देखियो’ बाँनियाले भने, ‘कहिलेकाही पार्टीमा सफल नेता हुन्छ, जनतामा असफल पनि हुँदो रहेछ ।’