
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका सांसदहरूलाई एकढिक्का भएर संसद फेस गर्न निर्देशन दिएका छन् ।
शनिवार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको ओली समूहको संसदीय दलको बैठकमा ओलीले आफ्ना सांसदहरूलाई एकढिक्का हुन निर्देशन दिएका हुन् ।
'प्रधानमन्त्रीको स्पष्ट निर्देशन भनेको संवैधानिक र कानूनी रूपमा संसदमा मर्यादित रूपमा एकढिक्का भएर उपस्थित हुने हो,' बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै सांसद चक्रप्रसाद स्नेहीले सञ्चारकर्मीहरूसँग भने ।
उनले आजको बैठकमा १ सय १५ जना भन्दा बढी उपस्थित भएको दाबी गरे ।
अर्का सांसद खिमलाल भट्टराईले प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै भने, 'भोलि हाम्रो संख्या १ सय २० पुग्छ । तपाईंहरू आत्मविश्वासका साथ एक ढिक्का भएर अघि बढ्नुस ।'
ओलीले देश र जनताको पक्षमा सरकार लागेको दाबी गर्दै आफ्ना सांसदहरूलाई संसदमा सरकारको बचाउ गर्न निर्देशन दिएका हुन् । 'हामी देश र जनताको पक्षमा छौं । जित हाम्रो हुन्छ,' ओलीले भने ।
सांसद भट्टराईले प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्ताव आएमा पास हुन नसक्ने दाबीसमेत गरे । 'अविश्वासको प्रस्ताव आए पनि जे आएपनि जसरी सरकार अघि बढेको छ त्यसहिसाबले पास हुँदैन, ढुक्क हुनुस्,' भट्टराईले भने ।
भट्टराईले प्रचण्ड-नेपाल समूहले ढोका थुनेर मिटिङ गरेको आरोपसमेत लगाए ।
शुक्रवार प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक बसेको थियो । यो समूहले पनि आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ ।
आइतवार अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक बस्ने कार्यक्रम रहेको छ । प्रतिनिधि सभाको बैठक अघि नेकपाका दुवै पक्षले आफ्नोतर्फ बहुमत रहेको दाबी गर्दै मनोवैज्ञानिक दबाब सिर्जना गरिरहेका छन् ।
ओली समूहको संसदीय दलको बैठक शनिवार अपराह्न ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो ।