
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका काममा जनताले साथ दिए सरकारले जस्तो सुकै काम पनि आँट्न सक्ने बताएका छन् ।
उनले शनिवार मेलम्ची खानेपानी आयोजनाबाट सुन्दरीजलमा झारिएको पानीको अवलोकनका क्रममा उनले यस्तो बताएका हुन् ।
मुनामदनलाई सम्झँदै ओलीले भने,‘ तिमिले हाँसे म हाँक्न सक्छु इन्द्रको शासन भनेजस्तै जनताको साथ पाएसम्म हामी विकासको कामलाई हाँक्न सक्छौं ।’
उनले २७ गतेको शिवरात्रीमा मेलम्चीको पानीले नुहाउनका लागि २६ गते बागमतीमा पानी मिसाउने बताएका छन् ।
उनले सरकारले विकासका काम तीव्रताका साथ अगाडि बढाइरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने,‘उद्घाटन भएका भयै छन्, शिलान्यास भएको भयै छन्, काम बनेका बन्यै छन् , ठूला आयोजना बन्दैछन् सुरुङमार्ग बन्दैछन्, अब डाँडा छेडेर हाइवे बनाउँछौं, पूर्वपश्चिम रेल चल्दैछन्, उत्तर दक्षिणको रेलका लागि सर्वेक्षण भइरहेका छन् ।’
उनले सरकारलाई काममा ध्यान भएको दावी गर्दै एकाथरीले काम गर्न नदिएको बताए ।
उनले भने,‘हामीलाई काममा ध्यान छ, एकाथरीले सरकारले काम नै काम गरेको छ, अचम्म गरेको छ उधुमै गर्न थाल्यो यसलाई तुरुन्त ढाल्न थाल्यो भनेर लागिपरेका छन् । हाम्रै पार्टीका एक हल कांग्रेसलाई साथमा लिएर मलाई हटाउन निवेदन हाल्न गएका छन् । ओलीलाई हटाएर नेतृत्व गरिदिनुपर्यो भनेर लौन प्रभु नेतृत्व गरिदिनुपर्यो भन्दैछन् । त्यतापति तपाईहरु चिन्ता नगर्नुस्, हामी ठेगान लगाउँछौं ’
विकासका काममा सरकारलाई जनताको साथ आवश्यक भएको बताउँदै उनले भने,‘तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको शासन भनेजस्तै हामी विकासको कामलाई हाँक्न सक्छौं ।’