
आइतबार अपराह्न ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको दैनिक कार्यसूची सम्भावित कार्यक्रमसहित सार्वजनिक गरिएको छ ।
संघीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार बैठक सुरु हुनेत्तिकै सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।
यस्तै राष्ट्रपतिको कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पनि सभामुखले सुनाउनेछन् भने त्यसपछि प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन सभामुखले गर्ने कार्यसूची पनि राखिएको छ ।
त्यसपछि विभिन्न अध्यादेशहरू सदनमा पेश हुनेछ भने सांसद तथा पूर्वसांसदहरूको निधनमा शोक प्रस्ताव सभामुखले प्रस्तुत गर्ने पनि कार्यसूचीमा उल्लेख छ ।
प्रतिनिधिसभा पुनःस्थापनापछि बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।
