१५ असार २०८३, सोमबार

सर्वोच्चमा रातारात ‘पेशी’ काण्ड, शपथ छल्न प्रन्या कार्की एक दिन बिदामा

कात्तिक २०, २०७४
सर्वोच्चमा रातारात ‘पेशी’ काण्ड, शपथ छल्न प्रन्या कार्की एक दिन बिदामा

काठमाडौं, ८ जेठ – अख्तियार प्रमुख दीप बस्न्यात र महालेखापरीक्षक टंकमणि शर्मालाई शपथ गराउनुपर्ने जिम्मेवारीबाट पन्छन प्रधानन्यायाधीश सुशीला कार्कीले सोमवार (आज) एक दिनका लागि मात्र बिदा लिएको अदालत र राष्ट्रपति कार्यालयका उच्च स्रोतले जनाएका छन् ।

प्रधानन्यायाधीश कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका बेला बसेको संवैधानिक परिषद्ले बस्न्यात र शर्मालाई नियुक्तिका लागि सिफारिश गरेको थियो ।

आफू निलम्बनमा परेका बेला सिफारिश गरिएका बस्न्यात र शर्मालाई कुनै हालतमा शपथ नखुवाउने अडान लिएपछि प्रधानन्यायाधीश कार्कीले शपथ छल्न बिदा बस्ने निर्णय गरेको स्रोतको दाबी छ ।

कार्कीले आज एक दिनका लागि मात्र राष्ट्रपतिबाट बिदा स्वीकृत गराएकी थिइन् ।

संवैधानिक परिषदमा प्रधानन्यायाधीश पनि रहने व्यवस्था छ । कार्कीको अनुपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीशका हैसियतमा सर्वोच्चका न्यायाधीश गोपाल पराजुलीले पछिल्लो संवैधानिक परिषद्को बैठकमा उपस्थिति जनाएका थिए ।

संविधानमा संवैधानिक निकायका प्रमुखलाई प्रधानन्यायाधीशले शपथ खुवाउने व्यवस्था छ । कार्कीले आफू शपथग्रहण कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी गराएपछि राष्ट्रपति कार्यालयले सर्वोच्चका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीलाई कार्यवाहक प्रधानन्यायाधीशका रूपमा उपस्थित हुन र शपथ खुवाउन आग्रह गरेको पत्ता लागेको छ ।

बहालवाला प्रधानन्यायाधीश छँदाछँदै संवैधानिक निकायका प्रमुखलाई शपथ खुवाउने उद्देश्यले एक दिनका लागि मात्र सर्वोच्चका न्यायाधीश कार्यवाहक प्रधानन्यायाधीश बनेको सम्भवतः यो पहिलो र दुर्लभ घटना हो ।
शुरुमा आनाकानी गरेपनि राष्ट्रपति कार्यालयको औपचारिक पत्र प्राप्त भएपछि र राष्ट्रपति विद्यादेवी भण्डारी स्वयंले अनुरोध गरेपछि न्यायाधीश पराजुलीलले एक दिने कार्यवाहक प्रधानन्यायाधीश भई त्यही हैसियतमा बस्न्यात र शर्मालाई एक समारोहका बीच शीतल निवासमा शपथ खुवाएका छन् ।

बिहान साढे १० बजेका लागि निर्धारित शपथग्रहण कार्यक्रम अनिश्चय, खिँचातानी र कार्कीको अनपेक्षित ढिपीका कारण एक घण्टा ढिलो भएको थियो । साढे ११ बजे पराजुलीले बस्न्यात र शर्मालाई शपथ गराएका थिए ।

कार्की र पराजुलीको सम्बन्ध

प्रधानन्यायाधीश कार्की र उनीपछिका सर्वोच्चका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीबीच बोलचाल छैन । उनीहरूबीच औपचारिक र हार्दिकताका साथ बोलचाल नभएको महिनौं भएको छ । कार्कीले न्यायापरिषद् ऐनको व्यवस्थाविपरीत आफू प्रधानन्यायाधीश भएपछि सर्वोच्चमा व्यतित गर्ने कार्यकालको गलत अर्थ लाग्ने गरी न्यायपरिषदबाट पूर्वाग्रहपूर्ण निर्णय गरेको भन्दै पराजुलीले केही महिनाअघि आपत्ति समेत जनाएका थिए ।

यसबीचमा सुशीला कार्कीमाथि महाअभियोग दर्ता भयो र पराजुली कार्यवाहक प्रधानन्यायाधीश बने । सर्वोच्चको आदेशले कार्की अदालत फर्केपछि यी दुईबीच बोलचाल त के, देखभेटसम्म भएको छैन ।

अकस्मातको पत्र, खोलेर हेर्दा चकित !

न्यायाधीश पराजुलीले आइतवार कार्यालय समय सकिन करीब एक घण्टा बाँकी रहँदा सर्वोच्चका रजिष्ट्रार नृपध्वज निरौलामार्फत एक गोप्य पत्र प्राप्त गरे । उक्त पत्र खोलेर हेर्दा आज (सोमवार) का लागि सर्वोच्चको नियमित पेशीमा चढ्नुपर्ने मुद्दाको सूची तय गर्नु भन्ने निर्देशन देखेपछि पराजुली चकित परेको स्रोतको दाबी छ ।

प्रधानन्यायाधीश कार्कीले आजका लागि मुद्दाको पेशी तोकिदिन आग्रह गरेको सूचना लिएर सर्वोच्चका रजिष्ट्रार न्यायाधीश पराजुलीको कार्यकक्षमा पुगेका थिए । अकस्मात् आएको त्यो प्रस्ताव सुनेर पराजुली केही क्षण अलमलमा परेका थिए ।

राति के भयो ?

सोमवारका लागि मुद्दाको पेशी तोक्ने निर्देशन पाएका पराजुलीले त्यो घटनालाई सामान्य रूपमा लिएनन् । उनले केही सोधखोज गरेको, एक दिनका लागि मात्र प्रधानन्यायाधीश कार्की विवादमा बसेको र आफूलाई एक दिनका लागि मात्र मुद्दाको पेशी तोक्न आग्रह गरेको तर त्यसको पछाडिको नियत शपथ कार्यक्रम छल्ने रहेको निचोड पराजुलीले निकालेको स्रोतको भनाइ छ ।

‘विना कुनै सूचना र कारण नखुलाई एक दिनका लागि मात्र मुद्दाको पेशी तोक्न आग्रह गरेको विषयमा न्यायाधीश पराजुलीले रातभर एउटा रणनीति बनाएको देखियो,’ एकाएक विकसित यो घटनाक्रमका बारेमा जानकार एक स्रोतले लोकान्तरसँग भन्यो, ‘सोमवार बिहान घटनाक्रम थप रोचक हुनेगरी न्यायाधीश पराजुलीले आफूले मुद्दाको पेशी नतोक्ने जवाफ प्रधानन्यायाधीश कार्कीलाई पठाए । त्यसबाट सर्वोच्चमा आज बिहान एक किसिमको भुइँचालो गयो ।’

पेशी तोक्ने, तर कुनै हालतमा शपथ नखुवाउने निर्णय

स्रोतका अनुसार पराजुलीले आफूले मुद्दाको पेशी नतोक्ने जवाफ सर्वोच्चका रजिष्ट्रारमार्फत प्रधानन्यायाधीशसमक्ष सोमवार बिहान पु–याएपछि कार्कीले आफू निकटस्थहरूसँग अब के गर्ने भनेर परामर्श गरेकी थिइन् ।

‘परामर्शका क्रममा बिदामा बसेपनि मुद्दाको पेशी तोक्न तर शपथग्रहण कार्यक्रममा कुनै हालतमा उपस्थित नहुन सुझाव दिइएपछि सम्माननीय प्रधानन्यायाधीशज्यूले सोही बमोजिम गर्नुभएको हो,’ सर्वोच्चका एक उच्च अधिकारीले लोकान्तरसँग भने ।

सोमवार बिहानको निर्णयअनुरूप प्रधानन्यायाधीश कार्कीले मुद्दाको पेशी आफैं तोकिन् तर शपथग्रहण कार्यक्रममा गइनन् ।

राष्ट्रपति कार्यालयमा खैलाबैला

स्रोतका अनुसार आज सोमवारका लागि अख्तियार प्रमुख र महालेखा प्रमुखको शपथ गराउन उपस्थित हुन आग्रह गर्दै राष्ट्रपति कार्यालयले केही दिनअघि प्रधानन्यायाधीश कार्कीलाई जानकारी गराएको थियो । तर कार्कीले आफू उपस्थित नहुने जानकारी राष्ट्रपति कार्यालयलाई आइतवार बिहान मात्र गराएकी थिइन् ।

राष्ट्रपति कार्यालयले उपस्थित नहुने बारेको सूचनाका सम्बन्धमा प्रधानन्यायाधीशसँग सोधखोज गरेको थियो । त्यसपछि न्यायाधीश पराजुलीलाई शपथ गराउन उपस्थित भइदिन राष्ट्रपति कार्यालयले आइतवार बेलुका नै आग्रह गरेको थियो ।

तर सोमवार बिहान न्यायाधीश पराजुलीले आफूले मुद्दाको पेशी नतोक्ने र एक दिनका लागि विना कुनै कारण कार्यवाहक प्रधानन्यायाधीश नबन्ने आशयको सन्देश पु–याएपछि केहीबेर राष्ट्रपति कार्यालयमा खैलाबैला मच्चिएको थियो ।

शपथग्रहण कार्यक्रममा उपस्थित हुन सबैतिर खबर भइसकेको, कार्यक्रम तय भइसकेको र निम्ता पनि गइसकेको अवस्थामा शपथ खुवाउने व्यक्तिको अलमल देखेर राष्ट्रपति कार्यालयमा केहीक्षण खैलाबैला भएको स्रोतको भनाइ छ ।

‘न्यायाधीश पराजुलीलाई पत्रै लेखेर शपथका लागि उपस्थित भइदिन अनुरोध गर्ने र शपथग्रहण कार्यक्रम सम्पन्न गरेरै छोड्ने राष्ट्रपति कार्यालयको अडानमा अन्तिम समयमा न्यायाधीश पराजुलीले साथ दिएपछि अहिलेलाई समस्याको समाधान भएको छ,’ स्रोतले भन्यो, ‘तर पछिल्लो घटनाले सरकार, संसद् र न्यायालयबीचको केही समयअघिदेखि जारी द्वन्द्व अझै समाप्त भइनसकेको स्पष्ट संकेत दिएको छ ।’

प्रधानन्यायाधीश कार्की सामान्य, भोलिदेखि नियमित काममा

एक विश्वस्त सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश कार्कीको स्वास्थ्य अवस्था सामान्य छ र भोलिदेखि उहाँ नियमित कार्यालय आउने र पेशी तोक्ने कार्यक्रम छ । यसअघि कार्कीले आफूले मुद्दा नहेर्ने भनेपनि अघिल्लो हप्ता न्यायाधीश सपना प्रधान मल्लसँग मिलेर मुद्दामा सुनुवाइ समेत गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्