
बेइजिङले एसियामा अमेरिकी सैन्यशक्तिलाई विस्थापित गर्ने प्रयास गरिरहँदा आगामी ६ वर्षभित्र चीनले ताइवानमा आक्रमण गर्न सक्ने चेतावनी अमेरिकाका एक शीर्ष सैन्य कमान्डरले दिएका छन् ।
ताइवानले चीनलाई आफ्नै भूभाग मान्ने गरेको छ र एकदिन मुख्यभूमिमा मिसाउने संकल्प लिएको छ ।
‘उनीहरू अमेरिकालाई विस्थापित गर्ने लक्ष्यमा अघि बढिरहेका छन् र सन् २०५० सम्ममा नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थामा हामीले लिएको नेतृत्वलाई हटाउन खोज्दैछन्,’ एसिया–प्रशान्त क्षेत्रमा वाशिङटनका शीर्ष सैन्य अधिकारी एडमिरल फिलिप डेभिडसनले मंगलवार बताए ।
‘त्यसअघि उनीहरूको लक्ष्य भनेको ताइवान मिसाउने हो । ताइवानलाई आगामी ६ वर्षसम्ममा उनीहरूले आफ्नो बनाउन सक्छन्,’ उनले अमेरिकी सिनेटको सशस्त्र सेवा समितिको सुनुवाइमा बताए ।
उक्त क्षेत्रमा चीनको सैन्य क्षमता विस्तार भएसँगै अमेरिकाका लागि अप्रिय परिस्थिति निम्तेको उनको भनाइ छ ।
‘हाम्रो सेनाले प्रभावकारी प्रतिक्रिया दिनुअघि नै चीनले यथास्थितिलाई एकपक्षीय रूपमा परिवर्तन गर्न सक्ने खतरा बढिरहेको छ,’ उनले बताए ।
‘उनीहरूले युद्धमैदानमा प्रदर्शन गरिरहेका क्षमता मैले बुझ्न सकेको छैन । यो आक्रामक गतिविधि हुनुपर्छ ।’
चीनमा सन् १९४९ मा टुंगिएको गृहयुद्धको अन्त्यतिर ताइवान मुख्यभूमि चीनबाट टुक्रिएको थियो । सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीले ताइवानमा कहिले पनि शासन चलाएन तर चीनले यसलाई आफ्नो अभिन्न अंग मान्ने गरेको छ र आवश्यक परेमा बलपूर्वक हात पार्ने बताएको छ ।