
धनुषाको आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा कार्यरत कर अधिकृत रमेश ढकाल र कन्सल्टेन्सीका सञ्चालक नविनकुमार कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख ५० हजार रुपैयाँ अतिरिक्त (घुस) रकमसहित रङ्गृेहात पक्राउ परेको छ ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले प्रेस विज्ञप्ति जारी गर्दै कर अधिकृत ढकाललाई पक्राउ गरिएकोबारे जानकारी दिए ।
‘जिल्ला धनुषास्थित आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा कार्यरत कर अधिकृत रमेश ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि अतिरिक्त रकम माग गरी आरएन मेनेजमेन्ट अकाउन्ट कन्सल्टेन्सीका प्रोपाइटर नविनकुमार कर्णलाई लिन लगाएको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीद्वारा निज नविनकुमार कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ अतिरिक्त रकम लिएको अवस्थामा रकमसहित जिल्ला धनुषा, जनकपुरधाम उपमहानगरपालिकास्थित अन्नपूर्ण होटल एण्ड गेस्ट हाउसबाट र कर अधिकृत रमेश ढकाललाई जिल्ला धनुषास्थित नेपाल स्काउटको कार्यालय अगाडिबाट मिति २०७७/११/२६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।