३० जेठ २०८३, शनिबार

ममता बनर्जीमाथि आक्रमण, पल्टियो चुनावी पासा ?

फागुन २७, २०७७
ममता बनर्जीमाथि आक्रमण, पल्टियो चुनावी पासा ?

भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी आफ्नो विधानसभा क्षेत्र नन्दीग्राममा घाइते भएकी छन् । 

भारतीय जनता पार्टीले आफूमाथि षड्यन्त्र गरी आक्रमण गरेको उनको आरोप छ । 

तर भाजपा र कांग्रेसले ममता झूटो बोलिरहेको बताएका छन् । 

ममताले विधानसभा निर्वाचनमा हारको आकलन गर्दै मतदाताहरूबाट सहानुभूति हासिल गर्नका लागि पाखण्ड गरिरहेको उनीहरूले आरोप लगाएका छन् । 

ममतामाथि सबभन्दा ठूलो शाब्दिक आक्रमण बंगालका कांग्रेसी नेता तथा लोकसभामा संसदीय दलका नेता अधीर रञ्जन चौधरीले लगाए । 

उनले भने, ‘सहानुभूति बटुल्ने राजनीतिक पाखण्ड हो यो । नन्दीग्राममा जित्न गाह्रो छ भन्ने थाहा पाएपछि उनले चुनावअघि यो नाटक रचेकी हुन् । मुख्यमन्त्रीसँग एकजना पनि मन्त्री नरहेको कुरा पत्याउन सक्नुहुन्छ ?’

भाजपाले पनि प्रत्यक्षदर्शीको हवाला दिँदै यो घटनाक्रम ममताको पाखण्ड भएको बताएको छ । ममतालाई कसैले पनि धकेलेर घाइते नबनाएको उसको दाबी छ । उसले प्रश्न गरेको छ, ‘हार पक्का भएको चुनावी संग्राममा सहानुभूति बटुल्ने प्रयास हो यो ?’

ममता भने यो भाजपाको षड्यन्त्र भएको र सबै कुरा जानीबुझीकन गरेको बताउँछिन् । 

ममताका भतिजा तथा सांसद अभिषेक बनर्जीले अस्पतालमा भर्ना भएकी ममताको तस्वीर ट्वीट गर्दै यस्तो क्याप्सन लेखेका छन्, ‘भाजपाका मान्छेहरू, तिमीहरू आफैं बंगालको जनताको शक्ति मे २ मा देख्नेछौ । तयार रहू ।’

ममता बनर्जीको गोडामा चोट लागेको तर कसैले पनि उनलाई नधकेलेको र उनीमाथि आक्रमण पनि नभएको बताइएको छ । प्रत्यक्षदर्शीहरूले यही कुरा भन्दैछन् । 

भारतमा निर्वाचन उम्मेदवारलाई चोटपटक लाग्दा मतदाताले सहानुभूति देखाएको इतिहास छ । यसले ममता बनर्जीलाई आफ्नो पक्षमा चुनावी पासा पल्टाउन कत्तिको सहयोग गर्नेछ समयले नै बताउला, विश्लेषकहरू भन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्