
संघीय समाजवादी र राजपा मिलेर जनता समाजवादी पार्टी (जसपा) बनेको लामो समयपछि बल्ल संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अगाडि बढेको छ ।
संसद्को चौथो ठूलो दल जसपा एकीकरणपछि पनि छुट्टाछुट्टै दलको हैसियतमा संसदमा अस्तित्वमै छ । यसबीचमा बिहीवार बसेको जसपा शीर्ष नेताहरूको बैठकले शुक्रवार दलको नेता तथा पदाधिकारीहरू चयन गर्ने निर्णय गरेको छ ।
संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू अशोक राई र राजेन्द्र महतोको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष ठाकुरले लोकान्तरलाई जानकारी दिए ।
'संसदीय दलको विधान भोलि बस्ने दलको बैठकबाट पारित गरेर नेता चयन गर्ने निर्णय भएको छ,' जसपा अध्यक्ष ठाकुरले लोकान्तरसँग भने, 'सर्वसम्मत तरिकाले नेता तथा पदाधिकारी चयन गर्ने निर्णय भएको छ ।'
जसपा संसदीय दलको नेताका लागि महन्थ ठाकुर र उपेन्द्र यादव मुख्य प्रतिस्पर्धामा छन् । यी दुईमध्ये कुनै एकजना नेता चयन हुने जसपाका एक सांसदले बताए ।
'साविकमा दुईवटा पार्टीको नेता भएका कारण अहिले एकीकृत जसपामा समेत दलको नेताका लागि दुवैजना अध्यक्षले दाबेदारी प्रस्तुत गर्नु स्वाभाविक हो,' ती सांसदले भने, 'दुईमध्ये एक जनालाई सर्वसम्मत तरिकाले पाँचै जना शीर्ष नेताले चयन गर्नुभयो भने हामी सांसदहरूका लागि पनि राम्रो हुनेछ ।'
सर्वसम्मत तरिकाले नेता चयन गर्ने निर्णय भए पनि तत्काल त्यो परिस्थिति नभएको पूर्व सपाका एक जना नेताले बताए ।
'उपेन्द्रजी नै संसदीय दलको नेतामा सर्वसम्मत तरिकाले चयन हुनुहोस् भन्ने हाम्रो चाहना हो,' ती नेताले भने, 'चुनाव गरेर नेता चयन गर्दा पार्टीमा विभाजनको असर पर्ने हुनाले सकेसम्म उपेन्द्रजीलाई नै सर्वसम्मत चयन गर्नुपर्ने हामीले चाहेका छौं ।'
यसअघि संसदीय दलको बैठक बस्दा ज्येष्ठ सदस्यको हैसियतले दलको बैठकको अध्यक्षता गरेका ठाकुर भने आफू नै सर्वसम्मत दलको नेता चुनिनेमा विश्वस्त देखिन्छन् ।
'हामीले त पहिले नै एनाउन्स गरिसकेका छौं,' ठाकुरले भने,'उम्मेद्वारीको के कुरा, सर्वसम्मत तरिकाले पार्टीको विधानअनुसार चयन हुन्छ ।'
जसपाको संसदीय दलमा ३४ जना सांसद छन् । जसमा साविकको राजपाका र सपका समान १७/१७ सांसद छन् । दुवै खेमाका एक/एक सांसद निलम्बित अवस्थामा छन् ।
ठाकुर आफैंले पनि सर्वसम्मत तरिकाले दलको नेता चयन हुने चाहना राखेका छन् । तर उपेन्द्र यादवले पनि सजिलै छाड्ने देखिन्न ।
चुनावमै जाने स्थिति आयो भने तेस्रो व्यक्तिलाई अगाडि सारेर भएपनि उपेन्द्रलाई पछि पार्ने महन्थको रणनीति रहेको स्रोतको दाबी छ ।
'३२ जना सांसदमध्ये २५ जना सांसद महन्थ ठाकुरको पक्षमा छन्,' ठाकुर निकट एक सांसदले भने, 'त्यसैले यदि चुनाव नै भयो र उपेन्द्रजीले पनि दाबेदारी प्रस्तुत गर्नुभयो भने ठाकुरजीले प्रतिस्पर्धा गर्नुहुन्न होला, राजेन्द्र महतोजीलाई उठाएर जिताउने बाटोमा लाग्ने सम्भावना देखिएको छ ।'
खास गरेर केपी ओली नेतृत्वको सरकारसँग सत्ता सहकार्य गर्ने वा कांग्रेस-माओवादी सहितको सहकार्यमा सरकारमा जाने विषयमा जसपाभित्र नेताहरू विभाजित देखिएका छन् ।
'हामीले कुन सरकारसँग सहकार्य गर्ने भन्दा पनि हाम्रो मुद्दाका लागि मात्र सहकार्य गर्न खोजेका छौं,' ठाकुरले लोकान्तरसँग भने, 'हाम्रा लागि ओली, प्रचण्ड, देउवामध्ये कोही पनि कम्फर्टेबल छैनन्, सबै उस्तै हुन् । रेशम चौधरीसहित अन्य मुद्दा जसले सम्बोधन गर्छ त्यसैसँग हाम्रो सहकार्य हुन्छ ।'
उनले थपे, 'पहिले जेलबाट नेताहरूको रिहाइ तथा मुद्दा फिर्ता होस् । त्यसपछि सरकारमा जाने वा नजाने विषयमा पार्टीले निर्णय गर्छ ।'
तर उपेन्द्र यादवले भने ओली नेतृत्वको सरकार सँग कुनै पनि हालतमा सहकार्य हुन नसक्ने सार्वजनिक रूपमै बताइसकेका छन् ।
सत्ता सहकार्यका विषयमा पूर्व राजपा र पूर्व सपाको फरक-फरक विचार देखिएका कारण पार्टी एकढिक्का नरहन पनि सक्ने आशंका छ ।
'पार्टी विभाजनभन्दा पनि अल्पमत र बहुमतको आधारमा निर्णय हुनेछ,' जसपाका एक नेताले भने, 'त्यस्तो अवस्था आउने स्थिति पैदा भए पनि पार्टी विभाजन गर्नका लागि चाहिने गणित उपेन्द्र यादवसँग छैन, त्यसैले पार्टीभित्र नै बसेर आफू बलियो बन्नेतिर लाग्नुहुन्छ होला ।'