
हुम्लाको खार्पुनाथ गाउँपालिका पशु सेवा शाखाद्वारा लक्षित वर्ग दलित बस्तीलाई कुखुराका चल्ला वितरण गरिएको छ ।
गाउँपालिकाको १ नम्बर वडाको प्यूस गाउँमा रहेका दलित समुदायलाई कुखुरा वितरण गरिएको हो ।
गाउँपालिकाअन्तर्गत पशु सेवा शाखा कार्यालयले कृषि पाठशालाका लागि दलितको उन्नति होस् भन्ने उद्देश्यका साथ कुखुरा वितरण गरेको जानकारी दिएको छ ।
सोही वडाका ३१ घरधुरीलाई प्रतिघर ३ जोडाका दरले गिरीराज जातका कुखुरा वितरण गरिएको पशु सेवा शाखाका निमित्त प्रमुख चिनबहादुर शाहीले बताए । उनीहरूको व्यवसायका लागि एक मात्र कुखुरा आधार बनोस् भन्दै कुखुरा वितरण गरेको शाहीले जानकारी दिए ।
गाउँपालिकामा पुगेका ३५० कुखुरामध्ये २७५ वितरण गरिएको थियो । बाँकी ७५ वटा कुखुरा मरेको शाखाका निमित्त कार्यालय प्रमुख शाहीले बताए ।
वितरण गरिएका सबै कुखुरा लक्षित वर्गका व्यक्तिलाई मात्रै वितरण गरिएको हो । सो जातका कुखुराले साढे २ महिनामै अण्डा उत्पादन गरेर चल्ला जन्माउने गरेको प्रमुख शाहीको भनाइ छ ।