
संसदीय दलको नेता चुन्न जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठक शुक्रवार बस्दैछ ।
संसदीय दलको कार्यालय सिंहदरवारमा दिउसो १ बजेका लागि दलको बैठक बोलाइएको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र तत्कालीन संघीय समाजवादी पार्टी मिलेर जसपा बनेपछि दलको नेता चयन गर्न सकेको छैन ।
संसदीय दलको नेता बन्नका लागि अध्यक्ष ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले प्रयास गरिरहेका छन् ।
संसदीय दलको बैठकमा आफूहरुले उठाएका मागबारे सरकारसँग भइरहेको वार्ताको विषयमा पनि कुरा हुनेछ ।
बिहीवार प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका नेताहरुबीच बालुवाटारमा लामो छलफल भएको थियो ।
हिजोको छलफल पछि औपचारिक रुपमा कार्यदल स्तरमा सहमतिको खाकाबारे छलफल हुनेछ ।
सहमतिका लागि नेकपा एमालेको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराइ तथा राजपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल बनेको छ ।