
दलको विधान पारित गर्न र संसदीय दलको नेता चुन्न जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठक शुरू भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रवार दिउँसो बैठक शुरू भएको हो । सहमति मै दलको नेता चयन गर्ने गृहकार्य भइरहेको जसपा सांसद लक्ष्मणलाल कर्णले लोकान्तरलाई जानकारी दिए ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र तत्कालीन संघीय समाजवादी पार्टी मिलेर जसपा बनेपछि दलको नेता चयन गर्न सकेको छैन । संसदीय दलको नेता बन्नका लागि अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले प्रयास गरिरहेका छन् । जसपा एउटा समूह महतोलाई दलको नेता बनाउने कसरतमा लागेको छ ।
संसदीय दलको बैठकमा आफूहरुले उठाएका मागबारे सरकारसँग भइरहेको वार्ताको विषयमा पनि कुरा हुनेछ । बिहीवार प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका नेताहरुबीच बालुवाटारमा लामो छलफल भएको थियो ।
हिजोको छलफल पछि औपचारिक रुपमा कार्यदल स्तरमा सहमतिको खाकाबारे छलफल हुनेछ । सहमतिका लागि नेकपा एमालेको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराइ तथा राजपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल बनेको छ ।