मुम्बई – अप्रैल २८ मा रिलिज भएको चलचित्र ‘बाहुबली २’ अहिले पनि सिनेमा हलमा चलिरहेको छ । चलचित्रले व्यापार पनि राम्रो गरिरहेको छ । रिलिजको पहिलो साता नै पाइरेसीको मारमा परेको उक्त चलचित्रलाई एक युट्युब प्रयोगकर्ताले युट्युबमा अपलोड गरे । अपलोड भएको आठ घण्टामै लाखौंले उक्त फिल्म हेरे । तर फिल्म हेर्नेले उक्त प्रयोगकर्तालाई विभिन्न तरिकाले गाली गरे ।

कुनै पनि चलचित्र युजरले निशुल्क हेर्न पाउँदा प्रयोगकर्ताले धन्यवाद दिएका हुन्थे । तर बाहुबली २ लाई भने सबैले गाली मात्र गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘बधाई छ, मैले रिपोर्ट गरिसकें । फिल्म थियटरमा चल्दै छ तर युट्युबमा अपलोड गर्ने? यो पक्कै पनि कुनै लोभीको काम हो ।’
त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘कृपया डिलिट गरिदिनुस् ।’
धेरैले उक्त प्रयोगकर्तालाई नराम्रो गाली गरेपनि केहीले भने धन्यवाद पनि भनेका छन् । यद्धपि गैरकानुनी रुपमा अपलोड गरिएका भिडियोलाई भने युट्युबले हटाउने गरेको छ ।
चलचित्र बाहुबली २ ले यस्ता फ्यान कमाएको छ कि, उनीहरुलाई उक्त चलचित्र आफ्नै चलचित्र भन्ने लागेको छ । भारतीय चलचित्रको इतिहासमा कैयन रेकर्ड बनाउन सफल उक्त चलचित्रले अभिनय र ग्राफिक्सका कारण सफल भएको मानिन्छ ।