
काठमाडौं, १० जेठ — बलिउड निर्देशक अनिल शर्माले सोमवार एक बयान दिएका छन् । उनका अनुसार उनले बनाएको एक फिल्मले कुनै बेलामा बेस्सरी पैसा कमाएको थियो र त्यो रेकर्डलाई बाहुबली २ ले तोड्न सकेको छैन ।

को हुन् यी अनिल शर्मा ? यी गदर नामक फिल्मका निर्देशक हुन् । उनका अनुसार सन् २००१ मा आएको उक्त फिल्मले त्यतिखेर दुई अर्ब ६५ करोड भारु कमाएको थियो । अहिलेको मुद्रादरमा कन्भर्ट गर्दा फिल्मले ५० अर्ब भारु कमाएको देखिन्छ । बाहुबलीले यो रेकर्ड तोड्न सकेको छैन । उसले लगभग १६ अर्ब मात्र कमाउन सकेको छ ।
‘बाहुबलीका निर्माताहरूले फुर्ती नगरे हुन्छ । मैले बनाएको गदरले सन् २००१ मा दुई अर्ब ६५ करोड कमाएको थियो । त्यतिखेर त टिकटको दाम पनि जम्मा २५ भारु थियो । कहाँ गदरको ५० अर्ब, कहाँ बाहुबली २ को १५ अर्ब ?’ उनले भने ।
अनिल शर्माले छोरालाई डेब्यु गराएर जिनियस नामक फिल्म बनाउँदैछन् । फिल्मको शूटिङ सोमवारदेखि शुरु भएको छ ।
गदरमा अनिलका छोरा उत्कर्ष बालकलाकारका रूपमा देखापरेका थिए । अब उनी जिनियसमा नायकका रूपमा देखा पर्दैछन् ।
एजेन्सी