
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी महाधिवेशन लम्बिएको छ ।
मंगलबार राति १० भित्र प्रकाशन गर्ने भनिएको उम्मेदवारहरूको प्रारम्भिक सूची बुधबार दिउँसो २ बजेसम्म पनि सार्वजनिक भएको छैन ।
यसअघि बुधबार बिहान केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले राति अबेरसम्म मनोनयन भएकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको बताएका थिए ।
त्यसक्रममा उनले चार सयभन्दा बढीको उम्मेदवारी परेको र बिहान ९ बजे नामावली प्रकाशन गरिने जनाएका थिए ।
तर दिउँसोको २ बज्दा पनि प्रारम्भिक नामावली सार्वजनिक हुन सकेको छैन । नामावली प्राप्त नहुँदा विद्युतीय भोटिङ मेसिनका प्राविधिकले नाम इन्ट्री गर्न पाएका छैनन् ।
उम्मेदवारको अन्तिम सूची प्रकाशित गरेपछि निर्वाचन आयोगले उम्मेदवारको फोटोसहितको सूची विद्युतीय मेसिनमा अपलोड गर्नका लागि उपलब्ध गराउनुपर्ने हुन्छ।
सूची प्राप्त भइसकेपछि मेसिनमा अपलोड गर्न ६ घण्टासम्म समय लाग्ने राम लक्ष्मण ई भोटिङ मेसिनका एक प्राविधिकले बताए ।
रास्वपाका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले मतदानका लागि एक प्रतिनिधिलाई १० मिनेटसम्म समय लाग्ने बताए । उनले पहिलो चरणमा केन्द्रीय सदस्यहरूको निर्वाचन हुने र त्यसको परिणाम आएपछि पदाधिकारीको निर्वाचन हुने बताए ।
बुर्लाकोटीले केन्द्रीय सदस्यहरूको निर्वाचन बुधबार बेलुकासम्म सकिन सक्ने अनुमान गरे । उनका अनुसार पहिलो चरणमा ९९ केन्द्रीय सदस्यका लागि मतदान हुनेछ ।
रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन् ।
रास्वपाले असार ७-९ सम्म महाधिवेशनको मिति तोकेको थियो । जसअनुसार ७ गते महाधिवेशनको उद्घाटन भयो । तर त्यसपछिका प्रक्रियामा पनि ढिलाइ भएको छ ।