
फ्रान्सकी एक अभिनेत्रीले सरकारसमक्ष आफ्नो कुरा पुर्याउनका लागि सार्वजनिक पुरस्कार समारोहमा सबै कपडा उतारेकी छन् । कोरोना महामारीमा कला र संस्कृति जोगाउनका लागि सरकारले ठोस कदम चाल्नुपर्ने भन्दै उनले कपडा खोलेकी हुन् ।
कोरेन मासिरो नामक ५७ वर्षीया ती अभिनेत्रीले सीजर अवार्ड समारोहमा स्टन्ट गरेकी हुन् ।
मासिरो मञ्चमा गधाको कस्ट्युम लगाएर पुगेकी थिइन् । त्यसमुनि रगत लतपतिएको एक कपडा उनले लगाएकी थिइन् । पछि उनले ती दुवै खोलिन् ।
फ्रान्समा लामो समयदेखि सिनेमाघरहरू बन्द छन् र धेरै कलाकारहरू सरकारको निर्णयबाट असन्तुष्ट छन् ।
मासिरोलाई बेस्ट कस्ट्युमको पुरस्कार दिनका लागि मञ्चमा बोलाइएको थियो ।
तर उनले कपडा खोलेर सबैलाई आश्चर्यचकित पारिन् ।
उनको शरीरमा सन्देश पोतिएको थियो, ‘संस्कृति नभए केही पनि हुँदैन ।’
अनि फ्रान्सका प्रधानमन्त्री जिएन कास्टेक्सका लागि उनले ढाडमा सन्देश लेखेकी थिइन्, ‘हाम्रो कला हामीलाई फर्काइदेऊ, जिएन ।’

गत डिसेम्बर महिनामा सयौं कलाकार, फिल्म निर्देशक, संगीतकार, फिल्म समीक्षक तथा अन्य सेलेब्रिटीले पेरिसमा सरकारविरोधी प्रदर्शन गरेका थिए । सिनेमाहल तथा थिएटर खोल्नका लागि उनीहरूले माग गरेका थिए ।