बोलिभिया सरकारले पूर्व कामचलाउ राष्ट्रपति जीनाइन आनेज पक्राउ परेको घोषणा शनिवार गरेको छ ।
सन् २०१९ को नोभेम्बर महिनामा इभो मोरालेसलाई सेनाले राजीनामा दिन बाध्य बनाएर देशबाट भगाएपछि आनेज कामचलाउ राष्ट्रपति बनेकी थिइन् ।
उनी खाटमुनि एउटा बाक्सामा लुकेर बसेको अवस्थामा फेला परेकी थिइन् । प्रहरीले उनलाई बिहानीपखको अँध्यारोमा पक्राउ गरेको थियो ।
बेनी प्रान्तको ट्रिनिडाडमा उनी आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ परेकी थिइन् ।
प्रहरीले आनेजकी छोरी समेत गरी तीनजनालाई पक्राउ गरेको छ ।
आनेजलाई अब पदको दुरुपयोग तथा विपक्षीहरूमाथिको राजनीतिक कारवाहीका लागि अभियोजन गरिने भएको छ । शनिवार बोलिभियाको प्रहरीले आनेजलाई राजधानी ला पाज लगेको छ । कूका विषयमा भइरहेको अनुसन्धानमा उनको बयान लिनका लागि त्यहाँ लगिएको हो ।
आनेज र नौ अन्य तत्कालीन वरिष्ठ अधिकारीविरुद्ध आतंकवाद, राज्यविप्लव र षड्यन्त्रको आरोप लगाइएको छ ।