
स्याङ्जा जिल्ला जन्मथलो भई देश विदेशका विभिन्न ठाँउमा क्रियाशिल पत्रकारहरुको ऐतिहासिक भेलाले स्याङ्जा पत्रकार समाज गठन गरेको छ । हिजो शनिवार काठमाडौंको बालाजु बाइसधारा पार्कमा सम्पन्न प्रथम भेलाले वरिष्ठ पत्रकार इन्द्र रिजालको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समिति तथा ७ सदस्यीय सल्लाहकार समितिको चयन गरेको हो ।
अलगअलग आस्था र विचार बोकेतापनि स्याङ्जा जन्मथलो भई विभिन्न स्थानमा छरिएर रहेका सबै स्याङ्जाबासी क्रियाशिल पत्रकारहरुको भेलाले सर्वसम्मत रुपमा अध्यक्ष, पदाधिकारी लगायतको कार्य समिति निर्वाचित गरेको हो ।
जन्मभुमिलाई माया गर्ने स्याङ्जाली पत्रकारबीच भाइचारा अभिबृद्धि गरि पत्रकारितामा आउने नयाँ पुस्ताका लागि केही गरौं भन्ने उद्देश्यले यो समाजको गठन गरिएको अध्यक्ष रिजालले बताए ।
देशविदेशमा बिशुद्ध पत्रकारिता गरिरहनु भएका साथीहरूबीच चिनाजानी, स्याङ्जा, काठमाडौं र मोफसलबीच टुटेको सम्बन्ध र साईनो जोड्ने प्रयास स्वरुप संस्थाको जन्म भएको अध्यक्ष रिजालको कथन छ । स्याङ्जाली पत्रकारहरू बीच एकता, आत्मियताको अभिबृद्धि गर्दै एकआपसमा सहयोग र सल्लाहको आदानप्रदान गर्ने तथा अन्य रचनात्मक काम गर्ने उद्देश्य पनि समेटिएको उनले बताए ।
नवगठित समितिको उपाध्यक्षमा वरिष्ठ पत्रकार श्रीराम पौडेल, अनिता बिन्दु, संगीता खड्का, प्रकाश डुम्रे रहेका छन् भने समाजको महासचिवमा अनिल गिरि, सचिवमा राजेश शर्मा र कोषाध्यक्षमा भूपराज बस्याल निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा शालिक सुवेदी, भरत कोइराला, श्रीकृष्ण सिग्देल, बिमला भण्डारी, गोविन्द गिरी, श्रीकृष्ण सुवेदी, घनश्याम सिग्देल, लक्ष्मण वियोगी, अर्जुन खनाल, मोहम्मद अजमत अलि, टीकाराम प्रधान, अर्जुन काफ्ले, दीलिपाश्री अधिकारी, मोहन गुरुङ, प्रतीक्षा काफ्ले, सरिता खनाल, शिव डुम्रे र साधना न्यौपाने रहेका छन् ।
यसैगरी सल्लाहकारहरुमा हरिप्रसाद लम्साल (बुटवल), हरिप्रसाद लम्साल (काठमाडौं), ओमप्रकाश शर्मा, नारायण शर्मा, बालकृष्ण चापागाईं, अमरनाथ ढकाल र शिव लम्साल रहेका छन् ।