
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस सरकारको नेतृत्वको लिन तयार रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन कैलालीले सोमवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले अन्य दलको नेतृत्वमा कांग्रेस सरकारमा नजाने स्पष्ट पारे ।
‘नयाँ सरकार गठनका लागि अंकगणितको खेल शुरू भएको छ,’ उनले भने, ‘नेकपा माओवादी र जसपासँग छलफल भइरहेको छ, सरकारको नेतृत्व पाए हामी सहभागी हुन्छौं, अन्य दलको नेतृत्वमा हामी सरकारमा जाँदैनौं ।’
नेपाली कांग्रेस आमनिर्वाचन केन्द्रित भएको समेत उनले बताए । ‘प्रमुख एजेन्डा आमनिर्वाचन हो,’ उनले भने, ‘नेपाली कांग्रेस निर्वाचनबाट बहुमतका साथ सरकारमा जान चाहन्छ तर अल्पकालीन अवस्थामा संसद्को अंकगणितको अवस्था हेरेर अगाडि बढ्छौं ।’
नेपाली कांग्रेस अझै पनि केही समय पर्ख र हेरको अवस्थामा रहेको उनले बताए ।