
म्यान्मारमा लोकतन्त्र समर्थक प्रदर्शनहरूका क्रममा आइतवार ३९ जनालाई सुरक्षाकर्मीहरूले हत्या गरेका छन् ।
फेब्रुअरी १ मा कू गरिएदेखि अहिलेसम्म १३४ जनाले ज्यान गुमाइसकेका छन् ।
मार्च ३ मा २८ जनालाई एकैदिन मारिएकोमा आइतवार त्यसभन्दा बढीले एकैदिनमा ज्यान गुमाए ।
सबभन्दा ठूलो शहर यांगोनको ह्लाइङ थार यार टाउनशिपमा सुरक्षाकर्मीले गोली, अश्रूग्यास र स्टन ग्रिनेड प्रहार गरेका थिए । बिहान साढे ९ बजेदेखि साँझ अबेरसम्म गोली चलाइएको थियो ।
घटनामा गोली लागेका केहीको अवस्था गम्भीर भएकाले मृत्युसंख्या बढ्न सक्ने देखिएको छ ।
प्रदर्शनकारीहरूले चिनियाँ कारखानाहरूमा आगो लगाएपछि म्यान्मारको सेनाले खुलेआम गोली वर्षा गरेको थियो ।
कतिपय ठाउँमा मारिएका मानिसको लाश गणना समेत नगरी फालिएको बताइएको छ ।
म्यान्मारमा सेनाले गरिरहेको दमनका विषयमा अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ । तर केही दिनयता म्यान्मारको सेनाले आक्रामक रवैया अपनाउँदै प्रदर्शनकारीहरूमाथि खुलेआम गोली प्रहार गरिरहेको छ ।