०३ असार २०८३, बुधबार

अध्यक्ष तिमिल्सिना र इजरायलका राजदूत गोडेरबीच शिष्टाचार भेट

अध्यक्ष तिमिल्सिना र इजरायलका राजदूत गोडेरबीच शिष्टाचार भेट

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेर(Honan Goder) ले शिष्टाचार भेटघाट गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा दोस्रो कार्यकालका लागि हालै नियुक्त इजरायली राजदूत गोडेरले सोमबार भेटेका हुन् ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्षसम्म दुई देशबीच सुमधुर र मैत्रीपूर्ण सम्बन्ध रहेको बताए ।

उनले दुई देशले संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा चासोका विषयमा निकट रहेर सहकार्य गरिरहेको बताउँदै दुई देशका संसदबीच समेत सुमधुर सम्बन्ध रहेको जानकारी गराए ।

इजरायलले नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले  विशेषगरी कृषि क्षेत्रमा प्रविधि भित्र्याउन तथा सीप विकासमा गरेको सहयोगका लागि आभार व्यक्त गरे ।

'इजरायलको कृषि क्षेत्रमा काम गरेर तथा कृषि सम्बन्धी विभिन्न तालिम गरेर फर्किएका नेपालीले कृषिमा सफलता हासिल गरेका छन्,' उनले भने, 'उनीहरूले सिकेको सीप र भित्र्याएको प्रविधि अन्य नेपाली कृषकले पनि प्रयोग गर्न पाउनु खुशीको कुरा हो। यसले हाम्रो कृषि क्षेत्रमा व्यावसायिकता र प्रविधिको प्रयोग बढाएको छ।'

अध्यक्ष तिमिल्सिनाले दुई पक्षबीच सम्झौता भएर हाल रोकिएको ज्येष्ठ नागरिकहरूको स्याहार-सुसारमा नेपाली कामदार जाने प्रक्रिया छिटो सुरु गराउन राजदूत मार्फत इजरायल सरकारलाई अनुरोध गरे । यसमा दूतावासले पछिल्लो समय चासो देखाएकोले छिटो नतिजा निस्कने विश्वास व्यक्त गरे ।

त्यसैगरी उनले नेपालमा अहिले लगानीमैत्री वातावरण भएकाले इजरायली लगानीकर्तालाई जलविद्युत, पर्यटन र कृषि, सूचना-प्रविधि, खानी लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

भेटका क्रममा इजरायलका राजदूत गोडेरले नेपालमा दोस्रो कार्यकालका लागि आउन पाउँदा खुसी व्यक्त गरे ।

इजरायलमा वार्षिक पाँचसय जना नेपाली एघार महिने कृषि तालिम लागि जाने गरेको बताउँदै उनले अब छिट्टै जेष्ठ नागरिकको स्याहारका लागि नेपाली इजरायल जानेक्रम सुरु हुने जानकारी गराए ।

'इजरायलमा विदेशी कामदारले पनि स्वदेशी बराबरको सेवा सुविधा पाउने गरेका छन्। कामदारबीच कुनै विभेद छैन,' राजदूत गोडेरले भने, 'नेपाली कामदारलाई पनि समान अवसर दिने कुरामा इजरायल प्रतिबद्ध छ।'

नेपालमा पर्यटकको रूपमा घुम्न आउँदा इजरायली नागरिक महिनौं बिताउने गरेको र कृषि तथा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको उनले जानकारी गराए ।

salt training

कमेन्ट गर्नुहोस्