
सुदूरपश्चिम प्रदेशमा बितेको दुई महिनामा झण्डै डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार गत माघ र फागुन महिनामा यहाँका नौवटै जिल्लामा एक लाख ४९ हजार ५७९ लाई कोरोनाविरुद्धको खोप लगाइएको हो ।
पहिलो चरणमा कारोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव बाहन र एम्बुलेन्समा खटिने कर्मचारी गरी गत माघ १४ गतेदेखि २४ गतेसम्म १४ हजार ८८५ लाई खोप लगाइएको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
त्यसैगरी फागुन २ देखि १० गतेसम्म सञ्चालन गरिएको खोप अभियानअन्तर्गत यहाँका नौवटै जिल्लाका २३ हजार ४१७ लाई कोरोना विरुद्धको खोप लगाइएको प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीद्धारा जारी विज्ञप्तीमार्फत जानकारी गराइएको छ । फागु्न २३ देखि २९ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा एक लाख ११ हजार २७७ जनालाई खोप लगाएको छ । यहाँ सबैभन्दा बढी कैलालीमा ४० हजार ३०१ जना, कञ्चनपुरमा २४ हजार ८६४, डोटीमा १४ हजार ३५७, बैतडीमा १४ हजार ९६ जनालाई खोप लगाइएको छ ।