
मिथिला माध्यमिकी यात्राका सहभागी मंगलवार चौथो दिन महोत्तरी जिल्ला प्रवेश गरेका छन् ।
तेस्रो दिन भारतको बिहार राज्यमा पर्ने मधुवनी जिल्लाको गिरिजास्थानमा रात्रिविश्राम गरेका यात्री मंगलवार चौथो दिन एकाबिहानैदेखि महोत्तरीको भारतीय सीमावर्ती मटिहानी आइपुग्ने क्रम शुरू भएको हो ।
यसअघि गत शनिवार धनुषाको ठेराकचुरीबाट यात्रा शुरू गरेका माध्यमिकी परिक्रमाका यात्रीले क्रमशः धनुषाको हनुमानगढी, भारतको मधुवनी जिल्लामा पर्ने कल्याणेश्वर र गिरिजास्थानमा पहिलो, दोस्रो र तेस्रो दिनको रात्रिविश्राम गरिसकेका छन् ।
गिरिजास्थानबाट सीमावर्ती भारतीय बजार मधवापुर हुँदै दशगजा (नेपाल–भारत सीमा) कटेर नेपालको महोत्तरी जिल्लाको मटिहानी प्रवेश गरेका यात्रीलाई मटिहानी नगर प्रमुख हरिप्रसाद मण्डल, जिल्लाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, महोत्तरी उद्योग वाणिज्य संघका पदाधिकारी र मटिहानी नगरवासीले हार्दिक स्वागत गरेका छन् ।
अहिले गिरिजास्थानबाट मटिहानीसम्म १५ दिने धार्मिक यात्राका सहभागीको अटुट पंक्ति देखिएको छ ।
आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी मंगलवार चौथो दिन मटिहानीमै रात्रिबास गर्नेछन् । विश्रामस्थलमा श्रीराम र जानकीजीको डोला (प्रतिमा राखिएको डोली) आइपुगेपछि वरिपरिका भक्तालुले दर्शन गर्ने र विश्रामस्थलमा भजनकीर्तनसहित धार्मिक मेला आयोजना हुने परम्परा छ ।
यात्रीहरूको भोजन, आवास, खानेपानी, प्राथमिक उपचार र आइपर्ने अन्य कुनै कामका लागि स्वयंसेवक सहितको आवश्यक प्रबन्ध रहेको मटिहानी नगर प्रमुख मण्डलको भनाइ छ ।
यात्राको चौथो दिन मटिहानी आइपुगेका यात्री अब आठौं दिनसम्म महोत्तरीमा रहने छन् । चौथो दिन मटिहानी, पाँचौं दिन जलेश्वर, छैटौं दिन मडै, सातौं दिन ध्रुवकुण्ड र आठौं दिन कञ्चनवनको रात्रिविश्रामपछि यात्री फेरि धनुषा जिल्ला प्रवेश गर्नेछन् ।
नेपाल र भारतको गरी जम्मा १३३ किलोमिटरको यो यात्रामा महोत्तरीमा २५ किलोमिटरको यात्रा गरिन्छ ।
अघि त्रेतायुगमा श्रीराम र सीताजीले विवाहपश्चात मिथिलाका विभिन्न ठाउँमा घुम्दै विहार गरेका सम्झनामा मिथिला माध्यमिकी परिक्रमाको परम्परा अठारौं शताब्दीमा शुरू भएको मिथिला संस्कृति र परम्पराका जानकार बताउँछन् । रामसीताका पदचाप पछ्याउँदै प्रतिमा राखिएका डोली अगाडि लगाएर गरिने यो यात्रा दैहिक नभएर पारलौकिक भएको साधुसन्तको भनाइ छ ।
सामलखाजा र एकसरो फेरफारका लुगाको पोको आफैं बोकेर नाङ्गा खुट्टाले गरिने यो यात्राले सांसारिक दुःखकष्टबाट मुक्ति दिने हिन्दू मैथिल जनविश्वास रहेको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल बताउँछन् ।
यात्रामा नेपाल र भारतका विभिन्न मठका साधुसन्त र आम श्रद्धालु सर्वसाधारणको सहभागिता रहँदै आएको छ । यात्राको बृहत्तर जनकपुर क्षेत्र विकास कोष र धार्मिक मठहरूले संयोजन तथा समन्वय गर्दै आएका छन् । फागुन औंशीबाट शुरू भई फागुन पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न गरिने मिथिला माध्यमिकी परिक्रमालाई मिथिलाको महाकुम्भ पनि भनिन्छ ।
यात्रामा धनुषामा ६, महोत्तरीमा ५ र भारतको मधुवनी जिल्लामा ४ रात्रिविश्रामस्थलको परम्परा रहँदै आएको छ ।