
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि हुनेतर्फ घटनाक्रमहरू गइरहेको बताएका छन् ।
केन्द्रीय सदस्य र सांसदहरूका लागि मंगलवार बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रतिनिधि सभा किन विघटन भएको थियो भन्ने कुरा पुष्टि हुन लागेको बताएका हुन् ।
‘प्रतिनिधि सभा विघटन गर्नुपर्ने स्थिति सिर्जना भयो, फेरि अदालतले पुन:स्थापना गरिदिएपछि । अब प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि हुने शिलशिला शुरू भएको छ । हामी त्यस चरणतिर जाँदैछौं । किन विघटन गरिएको थियो ? के औचित्य थियो भन्ने पुष्टि हुन्छ’ ओलीले भने, ‘किनभने मुद्दा लडेर ल्याएको संसद् आफैँले चल्न नदिने, आफैँ बहिस्कार गर्ने, आफैँ व्यवधान खडा गर्ने, आफैँ वेलमा गएर नारा लगाउने स्थिति बन्यो ।’
उनले सरकारले संवैधानिक दायित्व पूरा गर्न नपाएको बताए ।
'कार्यसूची बदलेर सभामुखले मन्त्रीलाई रोकेर, फेरि एक छिनमा अर्को दिनलाई सर्यो भने । संवैधानिक दायित्व पनि सरकारले पूरा गर्न पाएन,’ ओलीले भने ।