
जनगणनाको तयारीका लागि दाङमा कार्यालय स्थापना भएको छ ।
कार्यालयको स्थापनासँंगै विधिवतरूपमा जनगणनाको काम समेत शुरू भएको छ ।
‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ ।
जिल्लामा जनगणना २०७८ का लागि ९०६ जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाका लागि सुपरीवेक्षक र गणक परिचालन गरिने भएको हो ।
जम्मा १६७ सुपरीवेक्षक र ७३९ जना गणक परिचालन हुने तथ्यांक कार्यालय दाङका प्रमुख तुलसीराम पोख्रेलले जानकारी दिए ।
सुपरीवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन् । अहिले जनगणनाको लागि प्राविधिक तयारी भइरहेको छ ।
गणकले तथ्यांक संकलन गर्नुभन्दा पहिले सुपरीवेक्षकले घर सर्भे गर्नेछन् । सुपरीवेक्षकले विक्रम संवत् २०७८ वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन् । गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्ने छन् ।
यस वर्ष जनगणनामा ८१ वटा प्रश्नावली समावेश गरिने भएको छ । जनगणनामा आवश्यक पर्ने जनशक्ति करारमा लिइने छ । यसका लागि अनलाइनमार्फत आवेदन दिन सकिने छ ।
करारमा लिने जनशक्ति केन्द्रले नै छनोट गर्ने भएको हो । यसअघि जिल्लाबाट नै छनोट गरिने गरेको थियो ।
करारमा जनशक्ति लिनका लागि गएको माघ ११ गतेबाट चैत ११ गतेसम्म आवेदन दिने समय दिइएको छ । फागुन मसान्तसम्म अनलाइनमार्फत र अनलाइनमार्फत नभरेकाले चैत ५ देखि ११ गतेसम्म कार्यालयमा गएर आवेदन दिन सक्नेछन् ।
अघिल्ला वर्षमा शिक्षकलाई परिचालन गरिने गरेकोमा यस वर्ष करारमा जनशक्ति नै राख्न लागिएको हो । ‘बेरोजगारलाई रोजगारी प्रदान गर्न सकियोस् भनेर करारमा लिन थालिएको हो,’ प्रमुख पोख्रेलले भने ।
यसले धेरै शिक्षित भए पनि बेरोजगार भएकालाई रोजगार दिन सकिने उनको भनाइ छ ।
जिल्लामा ७ इलाका जनगणना कार्यालय रहने भएका छन् । जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्म विभिन्न समिति निर्माण गरिने छ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना र समन्वय समितिका प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्लाभित्रका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र रहने छ ।