
काठमाडौं, ९ जेठ — ढुंगा प्रहार गर्नेहरूबाट बच्नका लागि एकजनालाई सेनाको जीपमा बाँधेर मानवढाल बनाउँदै शहर घुमाउने मेजर लीतुल गोगोइलाई आतंकवादविरुद्धको अपरेसन सञ्चालन गरेको पुरस्कारस्वरूप भारतीय सेनाप्रमुखको प्रशंसा कार्ड दिइएको छ ।

गोगोइलाई यो पुरस्कार दिनु भनेको भारतीय सेनाले घटनालाई अनुमोदन गरेको ठहरिनु हो तर यस घटनामाथि सैन्य अदालतको अनुसन्धान अन्तिम चरणमा रहेको सेनाले बताएको छ ।
मेजर गोगोइले गरेको उल्लेख्य प्रदर्शन र सैन्य अदालतको परिणाम पनि सकारात्मक नै देखिएकाले उनले सैनिकहरूलाई ढुंगा प्रहारकर्ताबाट जोगाउनका लागि गरेको शीघ्र निर्णयलाई सेनाले समर्थन गरेको यसबाट देखिएको छ ।
गत अप्रिल ९ मा श्रीनगर लोकसभा उपचुनावमा सेनाको गाडीमा मानिस बाँधिएको भिडियो सार्वजनिक गरिएपछि खैलाबैला मच्चिएको थियो ।
स्रोतहरूका अनुसार मेजर गोगोइलाई सेनाप्रमुख बिपिन रावतको जम्मु कश्मीर भ्रमणका अवसरमा प्रदान गरिनेछ ।
सेनाप्रमुखको प्रशंसा कार्ड प्रतिष्ठित पुरस्कारका रूपमा लिइन्छ र सैन्य सेवा तथा कर्तव्यप्रतिको लगनका लागि प्रदान गरिन्छ ।
एजेन्सी