२५ असार २०८३, बिहीबार

ओली र वर्षमानबीच संसद् भवनको ढोकैमा जब जम्काभेट भयो...

ओली र वर्षमानबीच संसद् भवनको ढोकैमा जब जम्काभेट भयो...
तस्वीर : रासस

प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवन पुगेर बाहिरिने क्रममा ओली र नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता वर्षमान पुन 'अनन्त'बीच जम्काभेट भयो ।

वर्षमान प्रतिनिधि सभा विघटनअघि ओलीकै क्याबिनेट मन्त्री थिए । तत्कालीन ऊर्जामन्त्री पुनले पुस ५ गते प्रतिनिधि सभा विघटनको निर्णयमा असन्तुष्टि जनाउँदै मन्त्री पदबाट राजीनामा दिएका थिए ।

सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि ओली र पुनको पार्टी छुट्टाछुट्टै भएको छ ।

प्रतिनिधि सभा भवनबाट बाहिरिने क्रममा सिँढीमै प्रधानमन्त्री ओलीसँग जम्काभेट भएपछि वर्षमानले नमस्कार गरे ।

ओलीले प्रत्युत्तरमा सोधे– आरामै हुनुहुन्छ ?

वर्षमानले जवाफ फर्काए– आराम छु प्रधानमन्त्रीज्यू ।

त्यसपछि प्रधानमन्त्री ओली फिस्स हाँसे, वर्षमान पनि मुस्कुराए ।  

संयोग कस्तो भने त्यसकै केही समयअघि बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा राजीनामा गर्न आग्रह गरेको थियो ।

बैठकपछि वर्षमानले नै सञ्चारकर्मीहरूलाई निर्णयबारे जानकारी गराएका थिए ।

उनले भनेका थिए– 'प्रतिनिधि सभा विघटनको निर्णय गर्ने केपी शर्मा ओलीज्यूको कदम सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिसकेको अवस्थामा उहाँले राजीनामा दिनुपर्छ भन्ने दलको निष्कर्ष रह्यो ।'

प्रधानमन्त्री ओली मंगलवार प्रतिनिधि सभा बैठक सकिएपछि संसद् भवन पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्