
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत्र ५ गतेपछि नयाँ सत्ता समीकरणले मूर्तरूप पाउने बताएका छन् ।
मंगलबार नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत्र ५ गते बस्ने जनता समाजवादी पार्टी (जसपा) को बैठकपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालबीचको सत्ता समीकरणले मूर्तरूप पाउने बताए ।
अब ३ दलबीच गठबन्धन हुने दाबी गर्दै उनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलन गरिएका कारण ३ दलीय गठबन्धन प्राकृतिक हुने पनि बताए ।
उनले भने, ‘५ गते जसपाको बैठक छ । उहाँहरूको त्यो बैठकपछि यो सत्ता समीकरणले मूर्तरूप पाउँछ । माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको बीचमा गठबन्धन बन्छ । किन भन्दा हामी सबैले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक हो, यसलाई सच्याउनुपर्छ भनेर एकै ठाउँमा उभिएर त्यसबारेमा एउटै धारणा बनाएको सन्दर्भमा, आ–आफ्नो ढंगले आन्दोलन गरेको सन्दर्भमा र संसद पुनःस्थापना भइसकेको सन्दर्भमा यो एउटा प्राकृतिक गठबन्धन पनि हो ।’
नेता पुनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमिसकेको पनि बताए ।