११ असार २०८३, बिहीबार

एकता अभियानलाई थप सशक्त र प्रभावकारी बनाइने छ : वामदेव गौतम

चैत ३, २०७७
एकता अभियानलाई थप सशक्त र प्रभावकारी बनाइने छ : वामदेव गौतम

नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले कम्युनिस्ट आन्दोलन विभाजित भएर छिन्नभिन्न हुन गइरहेको अवस्थामा एकता अभियानलाई थप सशक्त र प्रभावकारी रूपमा अगाडि बढाइने बताएका छन् ।

अभियानको कार्यसम्पादन समितिको दोस्रो बैठकको मंगलवार शुुभारम्भ गर्दै संयोजक गौतमले भर्खरै पुनःस्थापित नेकपा एमालेमा खुशी साथ एकताबद्ध हुने अवस्था नरहेकाले एकता अभियान अरू बढी सक्रिय हुनुपर्नेमा जोड दिए ।

सर्वोच्च अदालतको निर्णयका आधारमा अहिले नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र विक्रम संवत् २०७५ जेठ ३ गते पूर्वको अवस्थामा पुनःस्थापित भएका छन् ।

प्रतिनिधि सभाको विघटनपछि विभाजन उन्मुख भएका दुवै समूहमा नलागी पार्टीमा पुनः एकता गराउने उद्देश्य राखेर एकता राष्ट्रिय अभियान निर्माण गरिएको उनको भनाइ थियो । 

संयोजक गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत प्रतिनिधिसभा विघटन गरेका तथा तथा तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीलाई हटाउन अविश्वास प्रस्ताव ल्याउन हतार गरेका कारण पार्टी एकतामा समस्या उत्पन्न भई मुुलुकमा अस्थिरता शुरू भएकोमा चिन्ता व्यक्त गरे ।

‘पार्टीका अध्यक्ष रहेका प्रधानमन्त्रीका विरुद्ध पार्टी विधानलाई बेवास्ता गर्दै अविश्वास प्रस्ताव राख्ने काम पनि गलत र हानिकारक थियो । अब त्यसलाई मित्रतापूर्णरूपमा आपसी समझदारी विकास गरेर पार्टीभित्र छलफल गरी समाधान गर्नुपर्छ । सकारात्मक प्रयत्न गर्ने हो भने समाधान गर्न सकिने अवस्था पनि विकसित हुनसक्छ । यस सम्बन्धमा अविश्वास प्रस्ताव प्रस्तुत गर्न सहमत पक्षलाई पार्टीसमक्ष आत्मालोचना गर्न एकता राष्ट्रिय अभियान अनुरोध गर्दछ,’ उनले भने ।

बैठकमा अभियानका गतिविधि, पार्टी एकता, वामपन्थी सरकार पुनर्निर्माण लगायतका विषयबारे छलफल गरिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्