
तान्जानियाका राष्ट्रपति जोन मागुफुली राजधानी दार एस सलामको एक अस्पतालमा बितेको जानकारी बुधवार उपराष्ट्रपतिले दिएकी छन् ।
मागुफुली ६१ वर्षका थिए ।
‘
राष्ट्रपति जोन मागुफुली विगत १० वर्षदेखि मुटुको समस्याबाट पीडित हुनुहुन्थ्यो र त्यसैकारण उहाँको मृत्यु भयो,’ सामिया सुलुहु हसनले टीभीमा सम्बोधन गर्दै बताइन् ।
राष्ट्रपतिलाई मजेना अस्पतालमा उपचार गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको उनले जानकारी दिइन् । उनले १४ दिनको राष्ट्रिय शोकको पनि घोषणा गरेकी छन् ।
हसन कायममुकायम राष्ट्रपति बनेकी छन् । उनको शपथग्रहणको घोषणा गरिएको छैन तर उनी देशको पहिलो महिला राष्ट्रपति बन्दैछिन् ।
मागुफुली हप्तैपिच्छे आइतवार चर्च जाने गर्थे तर फेब्रुअरी २७ देखि उनलाई देखिएको थिएन । उनी बिरामी परेको र विदेशमा उपचार गराइरहेको अनुमान थियो ।
भ्रष्टाचारविरुद्धको अडान तथा कट्टरपन्थी नीतिका कारण बुलडोजर नाम पाएका मागुफुली सन् २०१५ को अक्टोबरमा तान्जानियाका पाँचौं राष्ट्रपति बनेका थिए ।
तर भ्रष्टाचारविरोधी उनको अडानप्रति जनताको उत्साह लामो समय रहेन किनकि उनले लोकतन्त्र तथा विरोधी स्वरहरूलाई दबाउन शुरू गरे ।
कोरोना महामारी शुरू हुँदा मागुफुलीले देशमा भाइरसको गम्भीरतालाई बेवास्ता गरे अनि नागरिकहरूलाई कोरोना भागोस् भनी प्रार्थना गरे । यो शैतानी भाइरस जिसस क्राइस्टको शरीरमा बस्न नसक्ने उनले बताए ।
देशमा कोरोनाका पोजिटभ केसहरू त्रुटिपूर्ण टेस्ट किटका कारण भएको उनले आरोप लगाएका थिए ।
जुन महिनामा उनले ईश्वरको कृपाले कोरोनाभाइरस निर्मूल पारेको दाबी गरेका थिए र विदेशी खोपहरूको सुरक्षामा प्रश्न उठाएका थिए । उनले देशमा खोप ल्याउने कुनै योजना सार्वजनिक गरेनन् र घरेलु उपचार तथा बाफ लिने कामलाई जोड दिए ।
गत अप्रिल महिनादेखि तान्जानियाले कोभिड–१९ का कुनै पनि आँकडा सार्वजनिक गरेको छैन । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको आँकडा प्रकाशन गर्न र सार्वजनिक स्वास्थ्यका उपाय बलियो बनाउन तान्जानियालाई आह्वान गरेको छ ।