मुगु–हुम्ला लिंकरोडको मुगु खण्डमा पर्ने कर्णाली नदीमाथि स्थानीय सरकारले बेलीब्रिज पुल निर्माण गर्ने भएको छ ।
छायाँनाथ रारा नगरपालिका–१, ३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा नगरपालिकाले बेलीब्रिज निर्माण गर्न लागेको हो ।
नगरपालिकाका प्रमुख हरिजङ्ग शाहीले सो पुल र पुलसम्म पुग्ने सडकको बुधवार शिलान्यास गरे । पुल नगरपालिकाको आर्थिक लगानी र ग्रामीण पहँुच कार्यक्रम तेस्रो चरण (र्याप–३) को प्राविधिक सहयोगमा निमार्ण हुनेछ ।
बेलीब्रिज निर्माणका लागि जलब रवि चक्र जेभी निर्माण कम्पनीले नगरपालिकासँग बोलकबुल गरेर सम्झौता समेत गरिसकेको निर्माण कम्पनीका प्रतिनिधि बखतबहादुर मल्लले बताए । ‘विधिवतरूपमा पुलको शिलान्यास भएको छ,’ उनले भने, ‘अब द्रूतगतिमा पुल निर्माणको काम अघि बढ्ने छ ।’
नदीमा पानी बहाव नबढ्दै दुवैतिर टेवा पर्खाल निर्माण गरिसक्ने पनि उनले बताए ।
सो अवसरमा नगर प्रमुख शाहीले साविकको जिल्ला विकास समितिले भट्टेचौरमा पक्की पुल निर्माण गर्न ठेक्का लगाई पुल बनाउने काम रोकेका कारण प्रक्रियामा जान कानूनी समस्या परेको बताउँदै कानूनी प्रक्रिया पूरा गरेर पुल नबनुञ्जेलसम्मका लागि अस्थायी रूपमा भए पनि बेलीब्रिज राख्न गत वर्ष नै नगरसभाले बजेट विनियोजिन गरेको जानकारी दिए ।
ग्रामीण पहुँच कार्यक्रम (र्याप–३) ले मुगु सदरमुकाम गमगढीबाट हुम्लाको चंखेली गाउँपालिका देउलीसम्म जनताको सहभागितामार्फत सडक बनाए पनि मुगु कर्णालीमा पुल नहुँदा यो सडक सञ्चालनमा समस्या हुँदै आएको थियो । ‘नगरपालिकाको सक्रियतामा अब पुल निर्माण हुने भएको छ । दुवैतिरको पुलसम्म पुग्ने सडक बढीमा हप्ता दिनभित्र निर्माण सम्पन्न गर्नेछौं भने पुल निर्माणदेखि सडक निर्माणमा प्राविधिक सहयोग समेत गर्नेछौं,’ ग्रामीण पहँुच कार्यक्रमका टोली नेता विष्णुराम विष्टले भने ।
ट्रयाक खुला भएको वर्ष दिनभन्दा बढी समय बितिसक्दा पुल नहुँदा कर्णाली नदीपारिका रुगा, थार्प, लुम, बाम, लह, लापु र हुम्ला जिल्लाका तल्लो भेगका स्थानीयवासीले सडकको प्रयोग गर्न पाएका थिएनन् भन्दै रुगागाउँका स्थानीयवासी बालकृष्ण लावडले सडक भए पनि सवारी साधन थिएनन्, सडक भएर पनि गाउँमा कोही बिरामी हुँदा ३ घण्टा बोकेर जिल्ला अस्पताल मुगु पुर्याउन बाध्य हुने गरेको बताए ।
उनका अनुसार पुल अभावका कारण समयमै उपचार नपाएर कतिले बाटोमै ज्यान गुमाउनुपरेको थियो । ‘पुल निर्माण भएपछि अब हामी समयमै उपचार गर्न पाउने छौं भने घरबारीमा खेर गएका स्याउ, ओखर, अन्नबाली सदरमुकाम गमगढी, जुम्ला, सुर्खेत र नेपालगञ्जसम्म लगेर बिक्री गर्न सक्नेछौं,’ उनले भने, ‘प्राविधिक र पुल निर्माण कम्पनीले समयमै काम सम्पन्न गरोस् ।’