
हत्या अभियोगमा ७ वर्ष जेल बसेर आएकी महिलाले हनी ट्रयापमा परेर ३ लाख ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० की ३७ वर्षीया ललिता भन्ने लालसरी शाहीले २०६६ सालमा राजु धिताललाई अपहरण गरेर हत्या गरेको अभियोगमा बाँके जिल्ला अदालतबाट १४ वर्ष जेल सजाय पाएकी थिइन् । त्यसपछि उनी उच्च अदालत बाँकेको आदेशले ७ वर्षपछि २०७४ पुष २२ गते १ लाख धरौटीमा छुटेकी थिइन् ।
त्यसपछि लालसरी शाही र कल्पना हमालले मिलेर सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाएर २०७७ असोजमा बलात्कार गरेको आरोप लगाउँदै मुद्दा हालेका थिए । पछि अदालतले बलात्कारको झूटा आरोप लगाएको भन्दै ३ वर्ष ६ महिना जेल सजाय सुनाएपछि उनी जेल बसेका थिए ।
जेलबाट निस्केर उनीहरूले फेरि हनी ट्रयापमा पारेर ३ लाख रुपैयाँ ठगी गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए ।
उनीहरूले काठमाडौं महानगरपालिका–३२ कोटेश्वरका ५२ वर्षीय एक पुरुषसँग ८ लाख मागेको र उनले हनी ट्रयापमा परेर ३ लाख दिएको महाशाखाले जनाएको छ ।
पुरुषसँग बसेको भिडियो गोप्यरूपमा खिच्ने र ‘ब्ल्याकमेल’ गरेर पैसा माग्ने गरेको अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ ।