०५ साउन २०८३, मंगलबार
एमाले (खनाल-नेपाल) भेला

‘केपी ओलीले हामीलाई कारवाही गर्न सक्छन्, सामना गर्न तयार छौं’

‘केपी ओलीले हामीलाई कारवाही गर्न सक्छन्, सामना गर्न तयार छौं’

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र प्रभावशाली नेता माधवकुमार नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन माग गर्दै पार्टी एकता बचाउन अन्तिम समयसम्म कोशिश गर्ने निर्णय गरेको छ ।

ललितपुरको सानेपास्थित एक होटलमा बुधवार र बिहीवार चलेको खनाल–नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाले यस्तो निर्णय गरेको हो । भेलाले १७ बुँदे प्रस्ताव समेत पारित गरेको छ ।

भेललाई सम्बोधन गर्दै नेता नेपालले फागुन २८ गतेको निर्णय अमान्य रहेको बताए ।

‘विधान महाधिवेशनले मात्र विधान संशोधन गर्न पाउने एमालेको विधानको व्यवस्था छ, विधान मिचेर गरेका नियुक्ति मान्य छैन, पार्टीलाई जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्छ,’ नेता नेपालले भने । 

केन्द्रीय सदस्य चुडामणि जंगलीका अनुसार समापन मन्तव्यका क्रममा नेता नेपालले अन्तरपार्टी संघर्षमा रहेको र केपी शर्मा ओलीको गुलियो शब्दजालमा नपरी अगाडि बढ्ने बताएका थिए । 

आफूहरूमाथि ओलीले कारवाही गर्न सक्ने र त्यसका लागि आफूहरू तयार रहेको पनि उनले बताए । 

‘अब ओलीले नेतृत्व र जनप्रतिनिधिलाई हटाएर कारवाही अगाडि बढाउने कार्य हुनेछ, हामी सामना गर्न तयार छौं । हामी केपी ओलीको कदमलाई धूलो चटाउने छौं,’ नेपालले भने । 

नेता नेपालले कार्यकर्ताको भावनाअनुसार ओलीलाई सच्याउन आफूहरूले अन्तिम समयसम्म लड्ने र मैदान छाडेर नभाग्ने बताए । 

‘पार्टीभित्रका समस्या समाधान गर्न कार्यदल बनाएर समाधान गर्न खोजियो तर ओलीले भएका निर्णयलाई लत्याए,’ नेपालले भने, ‘हामी विभाजनको पक्षमा छैनौं । पार्टी एकता बलियो बनाउन अन्तिमसम्म कोशिश गर्छौं ।’

स्थायी कमिटी सदस्य योगेश भट्टराईका अनुसार भेलामा देशभरका ४ हजार अगुवा नेता कार्यकर्ता सहभागी भएका थिए । भेलामा बुधवार नेता नेपालले राजनीतिक अवधारणापत्र प्रस्तुत गरेका थिए । 

नेपालको प्रस्तावमाथि छलफल गर्न सात प्रदेश, पेशागत संघ लगायत १० वटा समूह बनाइएको थियो ।

समूहगत निष्कर्ष राख्ने क्रममा नेपालपक्षीय नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको कामका कारण जनतामा पार्टीको साख गिरेको बताएका हुन् । 

बागमती प्रदेशको तर्फबाट सुझाव राखेका लक्ष्मण लम्सालले प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमले जनतामा पार्टीको साख गिरेको दाबी गरे । उनले ओलीले गरेका जनविरोधी कामबारे श्वेतपत्र जारी गर्नुपर्ने धारणा राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्