०७ असार २०८३, आइतबार

एंकरेजमा अमेरिका र चीनका अधिकारीबीच तात्तातो बहस

चैत ६, २०७७
एंकरेजमा अमेरिका र चीनका अधिकारीबीच तात्तातो बहस

अमेरिकाको अलास्का राज्यको एंकरेजमा बिहीवार अमेरिका र चीनका शीर्ष कूटनीतिकर्मीहरूबीचको प्रत्यक्ष भेटवार्ताका क्रममा तात्तातो बहस भएको छ । 

चीनले विश्वका विभिन्न भागमा गरेका गतिविधिले बाइडन प्रशासनमा गहिरो चिन्ता छाएको भनी परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले बताए । त्यसलाई चिनियाँहरू तत्कालै प्रतिकार गरेपछि एकअर्काबीच तीखो घोचपेच भएको छ । 

चिनियाँहरूले अमेरिकी प्रतिनिधिमण्डलको बोली हेपाहा किसिमको भएको आरोप लगाए भने अमेरिकी अधिकारीले बेइजिङका प्रतिनिधिहरू आफूलाई सर्वोच्च ठानेर उपदेश दिने किसिमका भएका बताए । 

दुई पक्षबीच कठोर टिप्पणी भएपछि ब्लिन्केनले क्यामराम्यानहरूलाई फेरि बोलाएर चिनियाँ अधिकारीका टिप्पणीको काउन्टर दिए । विशेषगरी चिनियाँहरूले अमेरिकी लोकतन्त्रका विषयमा व्यंग्यात्मक टिप्पणी गरेपछि दुई पक्षबीच आरोप प्रत्यारोपको सिलसिला चल्यो । 
 

ब्लिन्केनले अमेरिका र चीनबीचको सम्बन्धलाई एक्काईसौं शताब्दीको सबभन्दा ठूलो भूराजनीतिक परीक्षा भनेका छन् र हिजोको बहसपछि यो सम्बन्ध निकै कठिन हुने देखिएको छ । 

उदीयमान तथा आक्रामक चीनले अमेरिकी कमजोरीको फाइदा उठाउने अवस्था रहेको सन्दर्भमा बाइडन घरेलु समस्या समाधानमा लाग्नुपर्ने स्थिति छ । 
 

ब्लिन्केनले अमेरिका नियममा आधारित व्यवस्थाको प्रतिरक्षा गर्न चाहन्छ किनकि त्यसको अभावमा संसार थप हिंस्रक हुन्छ भने । सिन्ज्याङ, हङकङ र ताइवानमा चीनले गरेका गतिविधि, अमेरिकाविरुद्धको साइबर आक्रमण, अमेरिकी साझेदारहरूलाई आर्थिक रूपमा दपेट्ने कामले वैश्विक स्थिरता कायम गर्ने नियममा आधारित व्यवस्थालाई जोखिममा पार्ने उनले बताए । 

यी आन्तरिक मामिला मात्र नभएको र यी विषयहरू यहाँ उठाउनैपर्ने अवस्था आएको उनको भनाइ थियो । 

चीनका शीर्ष कूटनीतिकर्मी याङ जीचीले चीनको आन्तरिक मामिलामा अमेरिकाको हस्तक्षेपविरुद्ध चेतावनी दिए अनि अन्य मुलुकका लागि बोल्ने अमेरिकाको अधिकारमाथि प्रश्न उठाए । अमेरिकाले साइबर आक्रमणको च्याम्पियन भएको उनले बताए । अमेरिकामा स्थिरतालाई उनले मजाकमा उडाए र मानवअधिकारका विषयमा अमेरिकाको रेकर्डलाई पनि चुनौती दिए । 

‘अमेरिकाले आफ्नै छवि परिवर्तन गर्नु आवश्यक छ र आफ्नो लोकतन्त्र अन्य देशमा निर्यात गर्न बन्द गर्नुपर्छ,’ याङले बताए । 

‘अमेरिकाभित्रै धेरै मानिसलाई लोकतन्त्रमा खासै आत्मविश्वास छैन । विभिन्न सर्वेक्षणहरूमा चिनियाँ नेतामाथि चिनियाँ जनताको व्यापक समर्थन रहेको थाहा हुन्छ,’ उनले भने ।
 

कमेन्ट गर्नुहोस्