
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रोजगारीको लागि प्रचुर सम्भावना भएको नेपालबाट समान्य रोजगारीको लागि अरबको खाडी र मलेसियाको जंगलमा श्रमिकहरु निर्यात गर्ने अवस्थाको अन्त्य गर्न देशमा उद्योग, कलकारखानाहरू खोल्नेतर्फ राज्यले दीर्घकालिन नीति ल्याएर कार्य सञ्चालन गर्नुपर्ने बताएका छन् ।
राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले तत्कालिन समयमा नाफामा चलिरहेका ठूला उद्योगहरुलाई २०४६ पछि निजीकरणका नाममा कौडीको मूल्यमा बिक्रि गरेर ठूलो भ्रष्टाचार गरी उद्योगधन्दा तहसनहस पार्दै श्रमिकहरुलाई समेत विस्थापित बनाएको आरोप लगाए ।
कम्युनिष्ट र कांग्रेसको अदूरदर्शी आर्थिक नीतिका कारण मुलुकलाई गम्भिर अवस्थामा पु¥याइएको दावी गर्दै थापाले कम्युनिष्ट र कांग्रेसको विकल्प भनेको एक मात्र पार्टी राप्रपा भएकोले राप्रपाले अंगिकार गरेका विचारलाई आम नेपालीको घरदैलोसम्म पु¥याएर पार्टीलाई अग्रणी शक्ति बनाउने अभियानमा लाग्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए ।