
नेपाललाई विश्व बैंकले ८.७ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकका कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड विरूद्धका खोपहरूको समतामुलक वितरणमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत ७.५ करोड अमेरिकी डलर ( करिब ८.७ अर्ब नेपाली रूपैंया) बराबरको वित्तिय सहयोग अनुमोदन गरेको हो ।
यस वित्तिय सहयोगद्वारा कम्तिमा एक तिहाई जनसंख्या सम्म खोप को सुविधा विस्तार गर्न सकिने अपेक्षा गरिएको छ ।
“यस महामारीले हाम्रासामु विशाल चुनौति र अनिश्चित वातावरण खडा गरेको छ, विशेष गरी खोपको खरीद, आपूर्ति र वितरणको सन्दर्भमा,” मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले भन] । “ कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वाकांक्षी योजनालाई सघाउनका लागि हामीले चालेको यस शिघ्र कदम नेपाल र विश्व बैंकको बलियो साझेदारीको प्रमाण हो । ”
गत वर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको २.९ करोड अमेरिकी डलर ( ३.३ अर्ब नेपाली रूपैंया) बराबरको कोभिड-१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मुल आयोजना तथा सरकारको समग्र कोभिड-१९ प्रतिकार्यमा विकासका अन्य साझेदारहरुको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यस अतिरिक्त वित्त सहयोग आएको हो ।