०२ असार २०८३, मंगलबार

तनहुँ जलविद्युत् आयोजना प्रभावितका छोराछोरीलाई छात्रवृत्ति प्रदान

चैत ७, २०७७
तनहुँ जलविद्युत् आयोजना प्रभावितका छोराछोरीलाई छात्रवृत्ति प्रदान
प्रतिकात्मक तस्वीर

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रभावित व्यक्तिका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

आयोजनाले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत स्थानीय वडामा रहेको शुक्ला माध्यमिक विद्यालयबाट छात्रवृत्ति वितरण शुरूआत गरेको हो । 

आयोजनाले विद्यालयमा अध्ययनरत १० विद्यार्थीलाई १ लाख ७ हजार रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरेको सहनिर्देशक भोला शर्माले जानकारी दिए । उनका अनुसार प्रतिविद्यार्थी १० हजार ७०० रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।

आयोजनाबाट प्रभावितका जेहेन्दार, लगनशील र विपन्न विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गरिएको शर्माले बताए ।

मापदण्ड बनाएर विद्यार्थी छनोट गर्ने जिम्मेवारी सम्बन्धित विद्यालयलाई नै दिइएको छ । ‘छात्रवृत्ति प्रदानका लागि एउटा मापदण्ड बनाएका छौं, प्रभावितमध्ये पनि विपन्न, जेहेन्दार विद्यार्थी हुनुपर्छ,’ शर्माले भने, ‘सोही मापदण्डभित्र रहेर विद्यालयले नै विद्यार्थी छनोट गर्नेछ ।’

आयोजनाले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत खानेपानी, बाटो निर्माण गरिरहेको छ । विद्युत् सेवा नपुगेका ग्रामीण भेगहरूमा विद्युतीकरणको कार्यक्रम पनि आयोजनाले सञ्चालन गरिरहेको छ । 

भीमाद नगरपालिकामा रहेको जनज्योति क्याम्पसको भवनमा तला थप गर्नका लागि पनि आयोजनाले सहयोग गरेको छ । आयोजनाले फागुन दोस्रो हप्तादेखि भीमाद नगरपालिका–५ मा प्रभावित समुदायलाई सिलाइ कटाइ तालिम समेत सञ्चालन गरिरहेको छ ।

आयोजनाले प्रभाव पारेको व्यास नगरपालिका, भीमाद नगरपालिका ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका १ हजार जनाका लागि सीपमूलक तालिम सञ्चालन गरिने छ । त्यसमध्ये पहिलो चरणमा भीमाद–५, म्याग्दे–५ र ऋषिङ–५ का २० जनाको सहभागिता छ । तालिम ६५ दिनसम्म सञ्चालन हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्