
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले बिस्तारै लय समात्ने बताएका छन् ।
शनिवार जीपी कोइराला मेमोरियल (सामुदायिक) कलेजको आठौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताए ।
संसद छलफल, बहस, वादविवाद र संवाद हुँदै अघि बढ्ने भन्दै उनले चुनौतीको सामना गर्न प्रतिकूलतामा पनि अनुकूलता खोज्ने उपायहरू खोजिरहेको बताए ।
संसदले अनेकौं चुनौतीहरूको सामना गर्दै गुणस्तरीय कानून निर्माणको लागि प्रयत्न गरिरहेको पनि उनले बताए । ‘अलिकति समस्याहरू छन् । त्यसलाई लयमा फर्काउनको लागि बढी नै मेहनत गर्नुपर्ने आवश्यकता छ तर हिजोबाट तपाईंहरूलाई लाग्यो होला अब त्यसले लय समात्छ । त्यसले गति लिन्छ । त्यो जीवन्त र जनमुखी हुने नै छ । हामीले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रण गरेका छौं । संसदको मुख्य काम कानून निर्माण गर्ने हो । कानून निर्माण गर्ने कुरामा हामी अनेकन चुनौतीको सामना गर्दै त्यसलाई गुणस्तरीय कानून निर्माण गर्नका लागि भगिरथ प्रयत्न गर्दैछौं र त्यसपछि बनेका कानूनहरू कार्यान्वयन गर्ने हाम्रो कर्तव्य हुनेछ । चुनौतीहरू अवश्य छन्, समस्याहरू अवश्य छन् । नयाँ–नयाँ उपायहरू प्रतिकूलतामा पनि अनुकूलता खोज्ने उपायहरू खोजिरहेका छौं र बिस्तारै समय लाग्छ तर म विश्वास दिलाउन चाहन्छु कि त्यसले फेरि गति लिनेछ । जीवन्त र जनमुखी हुनेछ । संसद भनेको छलफल, बहस, वादविवाद, संवाद हुँदै अगाडी जाने कुरा हो । वादविवाद छ, अब संवाद हुँदै अगाडि बढ्छ ।’
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले राजनीतिक पार्टीहरूबीच सहमति र सहकार्य हुन नसकेको भन्दै सहमति साथ मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजानु आवश्यक रहेको बताए ।
‘मुलुक तरलताको अवस्थामा छ । अझै पनि राजनीतिक पार्टीमा सहमति, सहकार्य र एकता हुन सकेको छैन । मुलुकलाई समृद्धितर्फ, राजनीतिक स्थिरतातर्फ लगेर जान आवश्यक छ,’ उनले भने ।
सांसद प्रधानले राजनीतिक सहमति नभए मुलुकमा अस्थिरता भएर देशमा विकास र शान्ति नहुने पनि बताए ।