
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले माधवकुमार नेपाल लगायत चारजना नेताले दिने स्पष्टीकरणको आधारमा उनीहरुमाथि कार्वाहीको आगामी कदम निर्धारण हुने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीहित विपरित काम गरेको भन्दै माधव नेपाल लगायत भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टीकरण सोधिएका नेताहरुले दिने जवाफका आधारमा आगामी कदम निर्धारण हुने बताएका हुन् ।
‘अहिले त हामी स्पष्टीकरण सोधेका छौं, त्यसमा कस्तो जवाफ दिनुहुन्छ, त्यसपछिको कदम निर्धारण हुनेछ’ ज्ञवालीले भने, ‘अब पार्टीमा कुनैपनि खालका गुटगत गतिविधि स्वीकार्य सकिदैन, त्यसो हुदा विधान आकर्षित हुन्छ । हिजो गुटहरूको संयुक्त मोर्चा जस्तो भयो । अध्यक्ष केपी ओलीको भाषामा अब गुटबन्दीलाई नो इन्ट्री ।’
पार्टी अध्यक्ष र महासचिवको निर्देशन विपरित एमालेको ब्यानरमा कार्यकर्ता भेला गर्ने कुरालाई गम्भीरतापूर्वक लिएर स्पष्टीकरण सोधिएको ज्ञवालीले बताए ।
‘फागुन २३ गतेसम्मका गतिविधिलाई एक ढंगले हेर्न सकिएला, फागुन २३ पछिको अबस्थामा पनि उस्तै गतिविधि स्वीकार्य हुँदैन । कुनै गुटगत भेला नगर्न स्पष्ट निर्देशन हुँदा हुदै कार्यकर्ता भेला गरियो यो असाद्धै गम्भीर विषय भएकोले स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो,’ ज्ञवालीले भने ।
केन्द्रीय कमिटी बैठकले आगामी २०७८ मंसिर २ देखि १० गतेसम्म पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय गर्दै २६४ सदस्यीय आयोजक कमिटी बनाएको छ ।