
कोरोनाभाइरस मानिसमा सामान्य रुघाखोकी जस्तो गरी सधैंभरि रहिरहने र यो सम्बन्ध डिज्नीको कार्टून टम यान्ड जेरीबीचको जस्तो भएको चीनको सरुवा रोग निर्देशनालयका निर्देशकले बताएका छन् ।
टम यान्ड जेरी बिरालो र मुसा पात्र हुन् जो एकअर्कालाई देखिसहँदैनन् तर एकअर्कासँग छुट्टिन पनि सक्दैनन् ।
निर्देशक काओ फुले कोरोनाभाइरसविरुद्धको अन्तिम हतियार खोप नै भएको अनि सबैले खोप नलगाए भाइरससँग बाँच्न सिक्नुपर्ने बताए ।
उनले शनिवार चाइना डेभलपमेन्ट फोरममा यो कुरा बताएका हुन् ।
मानिसलाई संक्रमित गर्ने सातौं किसिमको कोरोनाभाइरस नोभल कोरोनाभाइरस भएको काओको भनाइ छ । कोरोनाभाइरसको सबभन्दा ठूलो विशेषता भनेको जेनेटिक रिकम्बिनेसन हो अर्थात् भविष्यमा नयाँ किसिमका कोरोनाभाइरसहरू देखिनेछन् र मानवजातिले यिनबाट थप आक्रमणको सामना गर्नुपर्ने हुन्छ ।
नोभल कोरोनाभाइरस गायब हुने कुनै प्रमाण फेला परेको छैन र यो सामान्य रुघाखोकी जस्तै गरी मानिसहरूसँग सधैं बस्ने देखिन्छ ।
लगभग ७० देखि ८० प्रतिशत जनसंख्यालाई खोप दिइए मात्र तथा सुरक्षा घेरा बनाइए मात्र मानिसहरू नयाँ संक्रमणको स्रोतबाट इम्युन हुन सक्ने र समाजले महामारीको अन्त्य देख्न सक्ने चिनियाँ सीडीसीका प्रमुख वैज्ञानिक वु जुनयूले त्यसै कार्यक्रममा बताए ।