३० जेठ २०८३, शनिबार

सय वर्ष पुगेपछि बल्ल परिचयपत्र

सय वर्ष पुगेपछि बल्ल परिचयपत्र

तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिक परिचयपत्र वितरण शुरू गरेको छ ।

गाउँपालिकाले वडास्तरबाटै ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण शुरू गरेको हो । आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित वडा कार्यालयमा आज १०० वर्षीया मनकुमारी लामिछानेलाई गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले परिचयपत्र प्रदान गरिन् । विसं १९७६ पुस ५ गते जन्मिएकी लामिछानेले पहिलोपटक ज्येष्ठ नागरिक परिचयपत्र पाउँदा खुशी लागेको बताइन् ।

“एक सय वर्ष पुगेपछि बल्ल परिचयपत्र पाएँ, अब पाउनुपर्ने अन्य सुविधा पनि पाउने आशा जाग्यो”, लामिछानेले भनिन् । गाउँपालिकाले वडा वडाबाटै परिचयपत्र वितरण गरिदिँदा आफूहरूलाई सहज भएको उनले बताइन् ।

“यो अवस्थामा गाउँपालिकासम्म गएर परिचयपत्र लिन परेको भए समस्या हुन्थ्यो”, उनले भनिन्, “घरआँगनमै परिचयपत्र पाउँदा एकदमै खुशी छु ।”

परिचयपत्र वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले सबै वडा कार्यालयबाट ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिने जानकारी दिँदै परिचयपत्र वितरणपछि ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक ऐन बमोजिमका छुट तथा सुविधा प्राप्त गर्ने बताए ।

पोख्रेलका अनुसार गाउँपालिकाका ६ वटै वडामा करिब एक हजार ४०० बढी ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिनेछ । 

चैत ९ गते आँबुखैरेनी गाउँपालिका–२ र ३ को वडा कार्यालयबाट परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिए ।

वडा नं ४, ५ र ६ मा भने परिचयपत्र वितरणका लागि पछि मिति तोकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्