मैले विगत ३ हप्तादेखि भारतमा फैलिएको कोरोना महामारीको अध्ययन गरिरहेको छु ।
आज अर्थात मार्च २२ बिहान ९.४५ सम्मको तथ्यांक हेर्दा २४ घण्टामा भारतमा ४६ हजार ९५१ संक्रमितको पहिचान भएको छ भने २१२ जना व्यक्तिको मृत्यु भएको छ ।
महाराष्ट्रमा २४ घन्टामा ३० हजार ५ सय ३५ जना नयाँ थपिएका छन् । त्यस्तै केरलामा १८७५, कर्नाटकमा १७१५,तामिलनाडुमा १२८९ , छत्तिसगढमा १०००, मध्यप्रदेशमा १३२२ , गुजरातमा १५८० , पञ्जाबमा २६४४ तथा दिल्लीमा ८२३ , हरियानामा ८६७ , उत्तरप्रदेशमा ४८८, पश्चिम बङ्गालमा ४२२ लगायत प्रदेशमा दैनिक बढोत्तरी देखिएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार परीक्षण नगरेको जनसंख्या अत्यन्त धेरै भएकोले संक्रमितको संख्या निकै धेरै छ । भारतका धेरै सहरमा लकडाउन तथा रात्रिकालीन कर्फ्यु लगाइएको छ भने परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र उपचारका लागि धेरै कदम चालिएको छ । भारतमा खोप केन्द्रको विस्तार तथा महामारी फैलिएका राज्यमा व्यापक भ्याक्सिनेसन गरिँदैछ ।
भारतका स्वास्थ्यविज्ञका अनुसार त्यहाँ फैलिएको कोरोनाको दोस्रो लहर बेलायतको नयाँ प्रजाति मुख्य रहेको तथा अफ्रिका, ब्राजिल आदि देशको घातक प्रजाति पनि रहेको हुनसक्ने बताएका छन् । यी घातक प्रजातिले पहिले संक्रमण भएर निको भएका वा खोप लगाएका व्यक्तिलाई पनि जोखिमयुक्त हुने चिन्ता व्यक्त गरेका छन् ।
भारतमा कोरोना महामारी तीव्र गतिमा फैलिने क्रमसँगै नेपाल फर्किने नेपालीको संख्या बढिरहेको छ । यो संख्या दिनप्रतिदिन बढ्नेछ । सरकारले सीमा नाकामा सबै जनाको र्यापिड एन्टिजेन टेस्ट, पीसीआर टेस्ट लगायत परीक्षण गर्ने, सुविधासम्पन्न क्वारेन्टीनमा राख्ने, संक्रमण पुष्टि भएका व्यक्तिलाई आइसोलेसन केन्द्रमा राख्ने लगायतका आधारभूत विषयको तयारी आजदेखि नै थाल्नुपर्दछ । विगतबाट हामीले पाठ सिक्नु पर्दछ ।
- नेपाल – भारत सिधा सञ्चालन हुने बससेवा तथा हवाइसेवामा विशेष निगरानी तथा परीक्षण गर्नुपर्दछ ।
- होलीको समयमा भारत जाने यहाँ अवस्थित भारतीय कामदारको आवतजावत सुरक्षित एवं व्यवस्थित गर्नुपर्दछ ।
- सरकारले सीमा इलाकामा परीक्षणको दायरा बढाउनुपर्दछ ।
- जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नु / गराउनु पर्दछ ।
- सभा, सम्मेलन, प्रदर्शन लगायत भीडभाडलाई रोक्नुपर्दछ ।
- गत वर्ष डरका कारण आम नागरिक घरभित्र बसेका थिए । तर अहिले डर हटेको छ । महामारीको समयमा आफू, आफ्नो परिवार र समाजलाई बचाउनु हरेक नागरिकको कर्तव्य हो । यसमा हामीले लापरबाही गर्नु हुँदैन ।
- सरकारले भारतसँग विविध च्यानलमार्फत बाँकी १० लाख कोभिशिल्ड खोप तथा भारतमा बनेको कोभ्याक्सिन ल्याउन पहल गर्नुपर्दछ । त्यस्तै कोभ्याक्स सुविधाअन्तर्गत आउने खोप, चीनले दिने भनेको खोप तथा अन्य खोप उत्पादक देशबाट खोप ल्याउनु जरुरी छ ।
- जेष्ठ नागरिक, दीर्घबिरामी तथा अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई खोप समयमै दिएमा मृत्युदर घटाउन सकिन्छ ।
- प्रभावकारी जनचेतना प्रचार / प्रसार, सीमानाकामा कडाइ, जनस्वास्थ्यका मापदण्डको अनुगमन र निगरानी तथा कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने संयन्त्र तयार गर्नुपर्दछ ।
वुहानबाट युरोप, अमेरिका, अरब, भारत हुँदै आएको महामारीले हामीलाई १ वर्ष बन्दी बनायो भने यो त हाम्रो खुला सिमाना भएको छिमेकमा आएको महामारी हो । सबै निकायले विषयको गम्भीरता बुझेर तदनुरूप आफ्ना कार्य सम्पादन गर्नु जरुरी छ । त्यति मात्र हैन युरोप, अफ्रिका आदि देशबाट आउने हरेक यात्रीको परीक्षण गरेर मात्र क्वारेन्टीन वा समुदायमा पठाउनु पर्दछ ।
हामी कोरोना महामारीबाट भुक्तभोगी भएका छौं । अनुभवी भएका छौं । त्यो अनुभवका कारण ठूलो क्षति नहुन सक्छ । हाम्रो अर्थतन्त्रले लकडाउन / कर्फ्यु थेग्न सक्दैन । तसर्थ हामीले आफ्नो बानी व्यवहारलाई जनस्वास्थ्यमैत्री बनाउनु जरुरी छ ।