
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुने गरी कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्ने बताएकी छन् ।
सोमबार खाद्यका लागि कृषि अभियानले गरेको कृषि विकासका समसामयिक सवालहरू माथिको छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषि क्षेत्रको विकासका लागि ठूलो लगानी जरुरी भएकाले देशका किसानलाई नोक्सान नहुने गरी कृषिमा विदेशी लगानी भित्र्याउनुपर्ने बताएका हुन् ।
कृषिको विकासका लागि आवश्यक लगानी सरकारको सामर्थ्यले नपुगेको भन्दै विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने उनको भनाइ छ ।
किसानलाई नोक्सान हुने क्षेत्रमा नदिने गरी, किसानलाई संरक्षण गर्नेगरी नेपालीले लगानी गर्न नसकेको क्षेत्रमा विदेशी लगानी भित्र्याउने उनले बताए ।
उनले भनिन्– ‘हाम्रा साना व्यवसायी किसानहरूलाई मार्ने गरी होइन । उहाँहरूको संरक्षण गर्नेगरी, उहाँहरूको अझै थप विकास गर्नेगरी, कृषि क्षेत्रको हाम्रो सम्भावना छ भनेर भनिरहेका बेला, आज कृषि क्षेत्रमा ठूलो लगानीको जरुरी पनि छ । ठूलो लगानीको जरुरी छ । हाम्रो लगानीले मात्रै भेटेन । विदेशी लगानीहरू पनि आकर्षित गरेर कृषि क्षेत्रको विकास गरौँ । उत्पादन बढाऔँ ।'
मन्त्री अर्यालले कोभिड १९ का कारण विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरूलाई हजारौँको संख्यामा रोजगारी सिर्जना गर्ने पनि बताइन् ।
उनले भनिन्– ‘कोभिड- १९ का कारणले वैदेशिक रोजगारीबाट विस्थापित भएर स्वदेश फर्केका युवाहरू हजारौँ युवाहरूलाई रोजगारीको कार्यक्रम लिएर अगाडी बढेका छौँ । फार्मको रुपमा, ठूला-ठूला फार्महरू व्यवसायिक हिसाबले लैजाने गरी हजारौं जना युवालाई हामी रोजगारी दिनेगरी, उहाँहरूको पनि लगानी राज्यको पनि लगानी गर्नेगरी अगाडी बढेका छौँ ।’
मन्त्री अर्यालले कृषि क्षेत्र उकालो लागेको दाबी पनि गरिन् । तत्कालै रासायनिक मलको विस्थापित गर्न नसकिने भएकाले प्रांगारिक मलको उत्पादन गर्न अभियान चलाउनुपर्ने उनको भनाइ छ ।
समयसापेक्ष कृषि नीति परिमार्जन गर्ने चरणमा मन्त्रालय रहेको पनि उनले बताइन् ।