
ब्राजिलमा कोभिड–१९ को संक्रमणबाट एकैदिनमा १ हजार २९० जनाको ज्यान गएको बताइएको छ ।
आइतवार ब्राजिलका स्वास्थ्य अधिकारीले दिएको समाचार अनुसार एकैदिनमा १ हजार २९० जनाको कोरोना संक्रमणबाट निधन भएको हो ।
यससँगै ब्राजिलमा हालसम्ममा ज्यान जाने व्यक्तिको संख्या २ लाख ९४ हजारभन्दा बढी पुगेको बताइएको छ ।
ब्राजिलमा आइतवारसम्म १ करोड १९ लाख ९८ हजार भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका स्वास्थ्य क्षेत्रका अधिकारीले जानकारी दिएका छन् ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ । ब्राजिलमा कोरोनाको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन् ।
ब्राजिलका स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुुसार प्रति १ लाख जनामा ५ हजार ४८२ जनामा कोरोना संक्रमण हुने गरेको छ । प्रति १ लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको जनाइएको छ ।
ब्राजिलको साओ पाओलो शहर शुरूदेखि नै कोरोना संक्रमणको १ किसिमले केन्द्रबिन्दुको रूपमा रहेको पनि पाइएको छ । यस शहरका स्वास्थ्य संस्थाहरू भरिएका छन् भने ती संस्थाका करीब ९१ प्रतिशत जति आकस्मिक कक्षहरू पनि भरिएका पाइएको छ ।
यसअघि यहाँको मृत्यु दर पनि पहिले ६० वर्षभन्दा माथिका नागरिकको बढी रहेकोमा पछिल्लो समयमा भने यहाँ कोरोना संक्रमणबाट ६० वर्षभन्दा कम उमेरका नागरिकको मृत्युको दर बढेको पाइएको पनि बताइएको छ । – रासस/सिन्ह्वा