नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअपहरूको प्रबद्र्धन मार्फत मुलुकभित्र उद्यमशीलता विकास गरि अधिकतम रोजगारी सिर्जना गर्न स्टार्टअप एण्ड इनोभेसन समिति गठन गरेको छ ।
पहिलो पटक स्टार्टअप एण्ड इनोभेसन समिति गठन गरेको महासंघले वार्षिक अधिकतम ४ लाखलाई रोजगारी सिर्जना गर्ने जनाएको छ ।
समितिको नेतृत्वमा महासंघको कार्यकारिणी समितिका सदस्य रञ्जितराज आचार्यको नियुक्त भएका छन् भने सो समितिमा स्टार्टअप एण्ड इनोभेसन क्षेत्रमा स्थापित यूवा उद्यमीहरुको सहभागिता रहेको महासंघले जनाएको छ ।
समितिले नव उद्यमीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा जोडने, महासंघले आर्थिक रुपान्तरण मार्गचित्र (भिजन पेपर) मार्फत अगाडि सारेको प्रति वर्ष ४ लाख रोजगारी सृजना गर्ने लक्ष्यलाई पुरा गर्ने कार्यमा सहयोग गर्ने, स्टार्टअप/उद्योग व्यवसायको वारेमा अध्ययन गर्ने, मुलुकभित्र नवीनतम सोचसहितको उद्यमशिलता प्रबद्र्धन गर्ने लगायत उद्योग मन्त्रालय अन्तर्गत लगानी प्रबद्र्धन महाशाखासँगको सहकार्यमा स्टार्टअप नीति निर्माणका लागि पहल गर्ने रणनीति लिएको छ ।
नविन सोचमा आधारित रहेर उद्यम गरिरहेका ५० वटा स्टार्टअप÷उद्योग व्यवसायहरूको व्यवसायिक सफलताका लागि समिति अन्तरगत रहेको इन्भेष्टर फोरममार्फत ५० लगानीकर्तासँग साक्षात्कार गराई लगानी तथा व्यवसायिक साझेदारीका लागि कार्यक्रम तर्जुमा गरिएको छ । यसका लागि यही चैत्र महिनाको तेस्रो साताबाट आवेदन खुला गरिने छ ।